काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
शुक्रबार पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले ती सरकारका विरुद्ध आएका अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय पनि गरेको छ । “गण्डकी प्रदेश सरकारको विरुद्धको अविश्वासको प्रस्तावमा वैशाख १३ गते छलफल हुँदैछ । उक्त प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन पठाइसकिएको छ,” अध्यक्ष चित्र बाहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
केन्द्रमा केपी ओली नेतृत्वको सरकारले लगातार अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र प्रतिगामी प्रकारका कदमहरु चाल्दै आएको आरोप पनि जनमोर्चाले लगाएको छ ।