काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान खोजेको आरोप लगाएका छन् ।
शुक्रबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा उनले ओलीले पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्ने पनि बताए । उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे । नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उनको भनाइ छ ।
उनले सांसद पद जाने गरी विधि विधान विपरीत कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गर्न नसक्ने तर्क गरे । विधि र विधान विपरीत कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए । रावलले सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको बताए ।
उनले ओलीले चालेका कदमहरु नसच्याए देशमा अस्थिरता र अराजकता मच्चिने बताए । देशको सिमाना मिचिएको भन्दै रावलले त्यस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने, नेकपा विघटन गर्ने र फेरि एमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आरोप लगाए ।