काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले बजेट, नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरेकी छन् ।
मन्त्री अर्यालले शुक्रबार मन्त्रालयमा विशेष कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८/७९ कृषि मन्त्रालयको बजेट, नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरुसँग छलफल गरी सुझाब लिएकी हुन् ।
त्यस अवसरमा बोल्दै कृषिमन्त्री अर्यालले विगतमा सञ्चालित कार्यक्रमलाई यसपाली सरकारले सच्याउने बताइन् । विगतमा सञ्चालनमा आएका तर प्रभावकारी हुन नकसकेका केही कार्यक्रम सच्याउने र केही कार्यक्रम नयाँ थप्ने तयारी रहेको मन्त्री अर्यालको भनाइ थियो। “विगतमा सञ्चालन भएका कार्यक्रमहरुका बारेमा मान्यज्यूहरुले प्रश्न उठाउनुभयो । त्यसका विषयमा धेरै प्रश्नहरु उठेका पनि छन्,” मन्त्री अर्यालले भनिन्, “त्यसैले हामीले विगतमा सञ्चालित कार्यक्रम सच्याउने तयारी रहेका छौ। केही नयाँ कार्यक्रम पनि थप गर्नेछौँ।”
त्यस अवसरमा बोल्ने सांसदहरुले प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुपर्ने, अनुदानका कार्यक्रमहरुमा विशेष ध्यान दिनुपर्ने, त्यसमा गैरकिसानले सुविधा लिने कुरालाई रोक्नुपर्ने, विभिन्न समयमा आउने विपदबाट हुने जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने, मागअनुसार सिधैँ स्थानीय तहमा बजेट पठाउने व्यवस्था गरिनुपर्ने, संघ, प्रदेश र पालिकाको कार्यक्रमबीचमा समन्वय बढाउनुपर्ने, गुणस्तर मापन ल्याब स्थापना गर्नुपर्ने, कृषि उपजको इन्सुरेन्स तत्काल सुरु गर्न आवश्यक रहेको बताएका थिए ।
त्यस अवसरमा सांसदहरु खगराज अधिकारी, विद्या भट्टराई, सुजिता शाक्य, माया ज्ञवाली, शान्ति पाख्रिन, कोमल वली, थममाथा थापामगर, दलबहादुर रानामगरलगायतले आ–आफ्नो सुझाब राखेका थिए ।