काठमाडौं । १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले बाजी मारेको छ । बुधबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो ।
१ सय ६२ रनका लक्ष्य पच्छाएको राजस्थानले १ सय ४८ रन मात्र जोड्न सक्यो । राजस्थानका बेन स्ट्रोक्सले ४१, रोविन उथप्पाले ३२, सञ्जु सामसनले २५, जोस बट्लरले २२ तथा राहुल तेवाटियाले नटआउट १४ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेन ।
दिल्लीका तुशार देशपाण्डे र एनरिच नाेर्ट्जेले समान २-२ तथा कगिसाे रबडा, रविचन्द्रन आश्विन र अक्षर पटेलले एक-एक विकेट आफ्नाे नाममा दर्ता गरे ।
यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।
पहिलो बलमै दिल्लीका ओपनर पृथ्वी शाँलाई शून्य रनमा गुमाएको दिल्ली केहि दवावमा रह्यो । यस्तै तेस्रो नम्बरमा ब्याटिङमा आएका अजिङ्क्य रहानेपनि व्यक्तिगत दुई तथा टोलीको स्कोर १० रन हुँदा आउट भएपछि झनै मुश्किलमा परेको थियो ।
तेस्रो विकेटका लागि कप्तान श्रेयास आयरसँग ८५ रनको अर्धशतकीय साझेदारी गर्दै टोलीको रनलाई अगाडि बढाउने क्रममा शिखर धवन ५७ रनमा आउट हुन पुगे । धवनले ३३ बलमा २ छक्का र ६ चौकाको मद्धतमा ५७ रन बनाएका थिए ।
आयरले पनि अर्धशतक पुरा गरे । ४३ बलको सामना गरेका आयरले २ छक्का र ३ चौकासहित ५३ रन बनाए । यस्तै, मर्कूस स्टोइनिसले १८, एलेक्स क्यारीले १४ रन बनाए ।
राजस्थानका जोफ्रा आर्चरले ३, जयदेव उनादकदले २ तथा कार्तिक त्यागी र श्रेयास गोपालले एक-एक विकेट लिए ।
यसअघि भएको पहिलो लिगमा दिल्ली ४६ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।
जितसँगै दिल्ली ८ खेलबाट ६ खेलमा जितसहित १२ अंक जाेड्दै पहिलाे स्थानमा उक्लिएकाे छ भने पराजित राजस्थान साताैँ स्थानमा यथावत् रहेकाे छ । यस्तै, एक खेल कम खेलेकाे मुम्बइ र बैङ्गलाेर रनरेटका आधारमा क्रमश दाेस्राे र तेस्राे स्थानमा रहेका छन् । यसैगरी, काेलकात्ता, हैदरबाद र चेन्नइ चाैथाे, पाँचाैँ र छैटाैँ स्थानमा रहेका छन् भने पञ्जाव पुछारमा रहेकाे छ ।