समाज रुपान्तरणका लागि सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक : मन्त्री तुम्बाहाम्फे

331

पोखरा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले समाज रुपान्तरणका लागि महिलाहरुको सबै ठाउँमा अर्थपूर्ण सहभागिताका लागि सहकारी र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताएकी छन् ।

राष्ट्रिय महासंघले मन्त्रालयको सहयोगमा पोखरामा आयोजना गरेको सहकारीमार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक २ दिने गण्डकी प्रदेश स्तरीय गोष्ठीको उद्घाटन पछि बोल्दै उनले यस्तो बताएकी हुन् ।

संविधानले महिलाको ३३ प्रतिशत सहभागिता ग्यारेण्टी गरेको छ, तर अझै पनि राज्यका निकाय तथा सामाजिक संघ संस्थाहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता छैन, मन्त्री तुम्बाहाम्फेले भनिन्,‘सहभागिता र संलग्नता मात्रै होइन समाज रुपान्तरणका सबै महत्वपूर्ण क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकता छ ।’

मुलुकको समृद्धिका लागि स्थिरताका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने भएकाले सहकारीमा रहेको श्रम, शक्ति र पूँजीलाई आर्थिक विकासमा जोड्नका लागि ध्यान दिनु पर्ने र त्यसका लागि कानुन वाधक भएका समयानुकुल परिमार्जन गर्न सकिने मन्त्री तुम्बाहाम्फेले बताइन् ।

भूमिहिन तथा अव्यवस्थित बसोबास व्यवस्थापनका लागि स्थानीय तहले ध्यान दिनु पर्नेमा जोड दिँदै उनले भूमि सम्बन्धी समस्या समाधानमा सहकारीको भूमिकालाई पनि बढाउन सकिने उनको भनाइ छ ।

कार्यक्रममा संघीय सभाका सदस्यहरु मन कुमारी केसी जिसी र विद्या भट्टराईले सहकारी क्षेत्रको प्रवर्द्भन गरी उद्यमशिलताको विकासमार्फत महिला र युवाहरुलाई समाज रुपान्तरणमा सक्रिय बनाउनु पर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्वमन्त्री केशव बडालले समाजमा विद्यमान बहुआयामिक गरिबी न्यूनिकरणमा सहकारी र स्थानीय तहबीचको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले सहकारीमार्फत स्थानीय स्रोत साधनको परिचालनका लागि स्थानीय तहको भूमिका र सहकारीको सहयोगका लागि समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रम राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलको अध्यक्षता, महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) को स्वागत र डिजिएम बाबुल खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

गोष्ठीमा गण्डकी प्रदेशका प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरीधारी शर्मा पौडेलले गण्डकी प्रदेशको समृद्धि र सहकारी अभियान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चन्द्रकला पौडेलले दिगो स्थानीय आर्थिक विकासमा प्रदेश तथा स्थानीय तह र सहकारीबीचको समन्वय र सहकार्य विषयक तथा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले दिगो विकास लक्ष्यको स्थानीयकरणमा स्थानीय तह र सहकारी विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरु, गण्डकी प्रदेशबाट सहकारीका केन्द्रीय संघमा प्रतिनिधित्व गर्ने सहकारीका अगुवाहरु, जिल्ला सहकारी संघ तथा विषयगत सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत करिब २ सय जनाको सहभागिता रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...