मल्लाज सहकारीका सदस्यलाई सहकारी सचेतना

199

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका सेयर सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ ३ दिने सहकारी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

सहकारीलाई थप प्रभावकारी, सक्षम र गतिशिल बनाउनका लागि सहकारीका सदस्यहरुको सक्रिय सहभागिता र समन्वयकारी भूमिका आवश्यक पर्ने भएकाले सदस्यहरुको क्षमता विकासका लागि तालीम आयोजना गरिएको संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीले जानकारी दिए ।

तालीममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहकारीहरुले सदस्यहरुलाई उनीहरुको काम कर्तव्य र अधिकारका बारेमा सचेत बनाउनुका साथै सहकारीको विकासका लागि प्रेरित गर्नु पर्नेमा जोड दिए ।

शनिबारदेखि सुरु भएको तालिममा पहिलो दिन सहकारीका सञ्चालक र कर्मचारीहरुका लागि सहकारी लेखा व्यवस्थापन सम्बन्धी जानकारी गराइएको थियो ।

दोस्रो दिन पुरुष सेयर सदस्यहरुका लागि सहकारी सचेतना तथा तेस्रो दिन महिला सेयर सदस्यहरुको सहभागितामा तालिम सञ्चालन गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

तालीम कार्यक्रम संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीको अध्यक्षता, उपाध्यक्ष शिव बहादुर जिसीको स्वागत र सचिव रघुनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

आफ्नै सुविधा सम्पन्न भवनबाट कारोबार सञ्चालन गरेको संस्थामा साढे ३ सय जना सेयर सदस्य, ३ करोड ३० लाख सेयर रकम, वचत ११ करोड ५० लाख र ११ करोड ६२ लाख कर्जा लगानी रहेको छ ।

संस्थाले बहुउद्देश्यीय अन्तरगत १ करोडको लागि उपभोक्ता भण्डार सञ्चालन गर्न लागेको संस्थाका प्रवन्धक प्रेम बहादुर भण्डारीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...