पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ : प्रधानमन्त्री ओली

112

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो राजनीतिक परिस्थितिबीच आवश्यक परेमा संसद्‌मा विश्वासको मत लिएर अगाडि बढ्ने बताएका छन् ।

नेकपाको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले आइतबार दिएको फैसला र प्रतिनिधि सभा बैठकका कामकारबाहीका विषयमा छलफल गर्न आयोजित दलको बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा विकसित र बदलिएको राजनीतिक परिस्थितिमा पार्टीलाई कसरी बलियो बनाएर जाने भन्ने विषयमा धारणा व्यक्त गर्नुहुँदै संसद्‌मा विश्वासको मत लिएरै अगाडि बढ्ने बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले राखेको धारणा उद्धृत गर्दै संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले भने, “सर्वोच्च अदालतबाट आएको फैसलाले ऋषि कट्टेललाई जिताएको हो, हामीलाई होइन ।”

उनकाअनुसार प्रधानमन्त्री ओलीले विकसित राजनीतिक घटना क्रममा पार्टीका कार्ययोजना, जिम्मेवारी व्यवस्थापनका लागि छिट्टै केन्द्रीय कमिटीको बैठक डाक्नेबारे जानकारी दिए । उनले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने विषयमा समेत चर्चा गरेका थिए ।

दलका सचेतक शान्ता चौधरीकाअनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसद् सञ्चालनमा सभामुखको भूमिका र शैलीप्रति समेत असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्री ओलीले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी एकतालाई नयाँ ढङ्गबाट अगाडि बढाउन सकिने सम्भावनाबारे समेत चर्चा गरेका थिए । “हामीले कसैलाई कारबाही गरेका छैनौँ, निकालेका छैनौँ । पार्टीमा सबैलाई स्वागत छ, नयाँ शिराबाट अगाडि बढ्न सकिन्छ”, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सचेतक चौधरीले भनिन् । गोरखापत्र दैनिकबाट

Share This:
सम्बन्धित खबर
Loading...