कोभिड–१९ उपचार केन्द्रमा प्लाज्माथेरापी सेवा सुरु

184

मोरङ । प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा आजदेखि प्लाज्माथेरापी सेवा सुरु गरिएको छ । कोभिड १९ का कडा बिरामीका लागि आजदेखि प्लाज्माथेरापी सेवा सुरु गरिएको हो ।

कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरी सेवा शुभारम्भ गरेका हुन् । प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको छ । अस्पतालमा आइसियु, भेन्टिलेटर र आइसोलेसन गरी ८० वटा शय्या सञ्चालनमा रहेको व्यवस्थापक बस्नेतले बताए ।

केन्द्रमा लक्षणसहितका संक्रमितको उपचार हुने गरेको छ भने आजसम्म केन्द्रबाट ४ सय ६१ जना संक्रमित निको भई घर फर्केका छन् भने ६२ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ४ सय १९ जना कोरोना थपिएका छन् । यस अवधिमा गरिएको एक हजार २ सय ३६ जनाको पिसिआर परीक्षणमा १ सय ५५ महिला र २ सय ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेहरुमा सुनसरीका ३ सय ४४, मोरङका ५६, झापाका सात, उदयपुरका छ, सङ्खुवासभाका तीन, भोजपुर, पाँचथर र प्रदेश बाहिरका एक/एक जना रहेका छन् । प्रदेशमा संक्रमितको सङ्ख्या ११ हजार १ सय ७० पुगेको छ ।

प्रदेशमा मंगलबार १९ जना संक्रमित निको भई घर फर्केका छन् भने हालसम्म चार हजार ८ सय ७३ जना निको भएका छन् । प्रदेशमा अहिलेसम्म एक लाख ३९ हजार ९ सय २८ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...