दार्चुलामा जिप दुर्घटना : तीन जनाको मृत्यु, चार घाइते

375

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका-६ उचाकोटमा जिप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

शनिबार साँझ सवा पाँच बजेको समयमा शैल्यशिखर नगरपालिका-८ अम्तोलीबाट रिठाचौपाता गइरहेको ग३च १६९३ नम्बरको जिप उचाकोटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।

घटनास्थलमै मृत्यु हुनेमा जिप चालक लेकम गाउँपालिका वडा नम्बर ६ का ३८ वर्षीय करन नाथ र शैल्यशिखर नगरपालिका वडा नम्बर ८ बस्ने ७० वर्षीया सुनादेवी पन्त रहेको उनले बताए । शैल्यशिखर ८ का ४० वर्षीय पदम राज पन्तको गोकुलेश्वर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।

त्यसैगरी घाइते हुनेमा शैल्यशिखर ८ का ७२ वर्षीय मन बुद्धिबल्लभ पन्त, पदम राज पन्तका छोरा १२ वर्षीय मुकेश पन्त र  ७ वर्षीय बसन्त पन्त तथा ७० वर्षीया गंगा पन्त रहेको सूचना अधिकारी चन्दले जानकारी दिए ।

जिप उचकोट भन्ने स्थानमा कच्ची सडकबाट १ सय मिटर तल खसेको छ । घाइतेहरुको उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको र दुर्घटनामा मृत्यु भएकाहरुको लाश घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउदको नेतृत्वमा ७ जनाको र प्रहरी नायक निरीक्षक लोकेन्द्र पुजाराको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...