मुस्कानको थपियो मुस्कान

380

काठमाडौं । पर्साको वीरगन्ज छपकैयाकी मुस्कान खातुन १५ वर्षको उमेरमा गत वर्ष भदौ २० गते स्कुल जाँदै गर्दा तेजाब (एसिड) आक्रमणमा परेकी थिइन् । तर, तत्काल मुस्कानले पत्तो पाइनन् कि को किन के फालेर गयो ? अब के हुन्छ ? एसिडले जलेका अंगको उपचार गर्न मुस्कान पाँच महिनाभन्दा बढी अस्पताल बस्नुपर्‍यो।

उनै मुस्कानलाई शुक्रबार बिहान अमेरिकी दूतावासबाट फोन आयो। खबर थियो– मुस्कानले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्लुओसी) पुरस्कार प्राप्त गरिन्। अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङकेनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मार्च ८ मा भर्चुअल कार्यक्रम गरी उक्त पुरस्कार प्रदान गर्नेछन्।

बुवाको मोबाइलमा आएको उक्त खबरले मुस्कान निःशब्द बनिन्। बुवाआमाले कसेर अँगालो हाले। खुसीको आँसु बर्सियो। तीनै जना धेरै बेर रोए। केही दिनअघि आफू मनोनयनमा परेको थाहा पाए पनि अवार्ड नै पाउने विश्वास गरेकी रहिनछन् मुस्कानले। ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरका रूपमा रूपान्तरण गरिन्। धम्की र सामाजिक दबाब सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिन्, जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे’, दूतावासले प्रेस विज्ञप्तिमा लेखेको छ, ‘यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्वपूर्ण थियो। नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ।’

यो पुरस्कार हरेक वर्ष संसारभर उत्कृष्ट काम गरेका महिलाको सम्मानस्वरूप प्रदान गरिँदै आएको छ। अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार खातुनलाई प्रदान गर्ने निर्णय गरेको अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ। यसअघि किशोरी शिक्षाका लागि अग्रसर पाकिस्तानी नोवेल पुरस्कार विजेता मलाला युसफजाईले यो अवार्ड प्राप्त गरेकी थिइन्।

मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली हुन्। पुरस्कार पाउनेमध्ये उनी संसारकै कम उमेरकी रहेको जनाइएको छ। अमेरिकी राजदूत रेन्डी बेरीले ट्विटरमार्फत मुस्कानलाई बधाई दिँदै उनले यो उत्कृष्ट पुरस्कार जितेको जानकारी दिएका छन्। बेरीकाअनुसार एसिड आक्रमण अन्त्यका लागि मुस्कानले निर्वाह गरेको सकारात्मक भूमिकाका लागि यो पुरस्कार प्रदान गरिएको हो।

एसिड आक्रमण भएदेखि बुवाआमाले मुस्कानलाई सदैव भनिरहे, ‘अगाडि बढिरहनू, हामी साथ छौं। तिमीलाई जस्तो अरू कसैलाई नहोस् भनेर यो क्षेत्रमा काम गर्नुपर्छ। अरूका लागि काम गर्नुपर्छ। फेरि अर्को मुस्कान खातुनलाई एसिड हान्ने कसैको हिम्मत नआओस्।’

बुवाआमाकै प्रेरणामा मुस्कानले एसिडपीडितका लागि काम गर्ने सपना बुनिन्। ‘एसिडले बनाएको यो दागले मेरो सपना रोक्न सक्दैन। सबैको माया र सहयोगले यो सफलता पाएकी हुँ’, उनले भनिन्, ‘न्यायका लागि संघर्ष गरें। कानुन पनि बन्यो। महिलामाथि हुने हिंसाविरुद्ध आवाज बन्ने, उहाँहरूलाई न्याय दिलाउन प्रयास गर्ने मेरो सपना छ।’

एसिडको दागले उनलाई धेरै कुरा सिकायो। ‘अनुहारको बाहिरी सुन्दरता खासै ठूलो कुरा हैन। यो त उमेर बढ्नासाथ आफैँ घटेर जान्छ। परिवर्तन भएर जान्छ। तर, काम र सपना ठूलो कुरा हो। कामलाई लिएर अगाडि बढ्नुपर्छ’, उनले भनिन्, ‘हिंसा अपराधबारे बोल्नुपर्छ। आफूलाई त भयो अन्यलाई नहोस् भनेर हिंसाविरुद्ध आवाज उठाउनुपर्छ। कसैले पनि आफ्नो जस्तो पीडा खप्नु नपरोस् भन्ने लाग्छ मलाई।’

उनले एसिड आक्रमणविरुद्ध कडा कानुन बनेको बताइन्। पहिले घाउ चोट हेरेर पाँच वर्षसम्म जेल सजाय थियो तर अहिले अपराध हेरेर २० वर्षसम्म कैदको व्यवस्था बनेको छ। केही एसिडपीडितले जागिरसमेत प्राप्त गरिसकेको जानकारी उनले दिइन्। अन्नपूर्णपोष्ट दैनिकबाट

Share This:
सम्बन्धित खबर
Loading...