संसद्‍बाट सरकार फाल्दा बर्बादै भयो भनेर सडकमा आउँदैनौँ : मन्त्री अर्याल

565

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्‍मा कुमारी अर्यालले सम्मानित संसद्‍बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बरु त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताएकी छन् । गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप (वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता)को एवम् बिरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको प्रसंग उल्लेख गर्दै उनले सरकार हटाउने नै भए विधि, प्रक्रियामार्फत आउन आग्रह गरिन् । ‘हामी सम्मानित संसद्‍बाट सरकार फेर्दा खुसी नै हुन्छौँ । हामी जनताका मान्छे हौँ, जनताको बीचमा आउदा खुसी नै हुन्छौँ’, मन्त्री अर्यालले भनिन्, ‘तर संसद आह्वान भएको छ । प्रधानमन्त्री हटाउछौँ भन्नेहरुले विधिसम्मत ढंगले फाल्नुपर्छ । संसद् सुरु भएर प्रधानमन्त्री हटाएमा हामी बर्बादै भयो भनेर हामी सडकमा आउनेवाला छैनौँ ।’ पार्टीका शीर्ष नेतृत्वबीचको अस्वस्थ खेल, पद र शक्तिको खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा परेको बताइन्। यसले अस्थिरता ल्याएको भन्दै उनले फेरि सत्ताको गणितीय खेल सुरु भएको भन्दै यसले मुलुकमा स्थायी सरकारको परिकल्पना भताभुंग पारिदिएको बताइन् ।

मन्त्री अर्यालले सरकारले इतिहासमा छुटाइएको लिम्पियाधुरासम्मको भूमि समेटेर प्रधानमन्त्री ओलीको नेतृत्वमा भएको सरकारमाथि हमला भएको बताइन् । सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल सुरु भएको भन्दै उनले त्यो कुरा पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताइन् । ‘यै सरकार हो जसले खुट्टा नकमाइकन इतिहासमा गुमेको भूमि समेटेर नक्सा जारी गर्यो । नक्सा जारी गरेको फल आज हामीले चाख्दैछौँ’, मन्त्री अर्यालले भनिन्, ‘त्यैबेला देखि यो सरकार नफाली हुँदैन भनेर लागे । हाम्रो नेतृत्वमा रहेका नेताहरु पनि प्रधानमन्त्री केपी शर्मा नफाली हुँदैन भनेर लागे ।’ नक्सा जारी भइसकेपछि सरकारले भूमि पनि फिर्ता ल्याउने तयारी गरिरहँदा सरकारमाथि हमला भएको उनले बताइन् । उनले भनिन्, ‘नक्सा मात्र होइन जमिन पनि फिर्ता ल्याइदेउ भनेर त्यै नक्साले भन्दैथियो । सरकारले त्यसको तयारी गरिरहेको थियो । तर देशीविदेशी शक्तिसहित एउटा पक्ष सरकार फाल्नतिर लाग्यो । अहिले त्यहीँ कुरा हामीले भोग्दैछौँ ।’

सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन गरेर नेपाली सामर्थ्य विश्वमा परिचित गराएको मन्त्री अर्यालले बताइन् । उनले भनिन्, ‘विदेशीले धेरै पटक उचाइ नाप्यो तर हामीले पहिलोपटक आफ्नै स्रोतसाधन, जनशक्तिको प्रयोग गरेर उचाइ नाप्यौँ र उचाइ पनि बढेर आएको छ । यसले विश्वमा नेपालको सामर्थ्यको चर्चा भएको छ ।’

जनताले विश्वास गरेपछि सरकारले विकासको मूल फुटाउदै गर्दा सत्ताधारी पार्टीमै ठूलो समस्या उत्पन्न भएको भन्दै उनले धेरै वार्ता तथा छलफलबाट पनि निकास ननिस्किएपछि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको बताइन् । संसद् विघटन पहिलो घटना नभएको भन्दै उनले बाध्यकारी विकल्पका रुपमा संसद विघटन गरिएको बताइन् । अदालतले एउटा निचोड दिइसकेको अवस्थामा त्यसको सम्मान गरेर जानुपर्ने भन्दै उनले अदालतमा मुद्दा चलिरहदा केपी ओलीले सेटिङ गरेको छ भनेर शीर्ष नेताहरुले आरोप लगाएपनि अहिले एउटा रिजल्ट आएको अवस्थामा त्यसको सम्मान गरेर सरकारले प्रतिनिधिसभाको बैठक आह्वान गरिसकेको बताइन् ।

मिलेर नै मुलुक बनाउन, जनताको चाहना पूरा गर्न सकिने बताउँदै मन्त्री अर्यालले पुनः पार्टी एकतामा फर्केर मुलुक बनाउने दिशामा अगाडि बढ्न आग्रह समेत गरिन् । ‘आफ्नै पार्टीभित्र झगडा गरेर मुलुकलाई अस्थिरताको दिशातर्फ धकेलेर कसैलाई फाइदा हुँदैन । जहाँ छौँ त्यहाँबाट फर्किएर मिल्ने दिशामा अगाडि बढौँ’, उनले भनिन्, ‘पार्टीका शीर्ष नेतृत्व, लोकतन्त्रवादी शक्तिहरु एक भएर नै जनताको चाहना पूरा गर्न सकिन्छ । त्यसैले मिलेर अगाडी बढौँ ।’

एक पक्षले नैतिकताको कुरा उठाइरहेको प्रसंग उल्लेख गर्दै उनले नैतिकता दुवैतर्फ लाग्ने बताइन् । उनले भनिन्, ‘नैतिकताको कुरा आएको छ तर, कुन नैतिकताको कुरा हो रु बिनाकारण कुर्सी छोड, हामी आउनुपर्छ भन्ने कुन नैतिकता हो ? नैतिकता दुवैतिर लागु हुन्छ ।’

अदालतबाट फैसला भएको दुई दिनमै प्रचण्ड–नेपाल पक्ष, कांग्रेस र जनता समाजवादी पार्टी मिल्दा मात्र भारतलाई फाइदा हुन्छ भन्ने आशयको कुरा प्रचण्डले बोलेको कुरा उल्लेख गर्दै मन्त्री अर्यालले भारत वा कुनै छिमेकी देशलाई फाइदा हुने कुरा होइन नेपालको हित हुने दिशामा अगाडि बढ्न आग्रह गरिन् । ओली सरकारको नेतृत्वमा आएपछि नेपाल चीन र भारततिर समदूरीमा छ कसैसँग नजिक वा टाढा छैन भन्ने कुरा स्थापित गरेको उनले बताइन् ।

यसैबीच मन्त्री अर्यालले पाँच वर्षको बीचमा ज्याग्दी खोलामा बाटो पिच गर्ने प्रतिबद्धता व्यक्त गरिन् । अस्पताल सञ्चालन गर्न बाँकी रहेको भन्दै त्यसलाई प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै उनले अहिले बनिसकेको अस्पतालको संरचनालाई १५ शय्याको गाउँपालिकाको हस्पिटल बनाइने बताइन् । आमा समूहको सामुदायिक भवन र खेल मैदानका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्याङ्जा जिल्लामा वितेको ३० वर्षमा नभएका काम ओली नेतृत्वको सरकारले ३ वर्षमा सम्पन्न गरेको दाबी गरिन् । मन्त्री अर्यालले भनिन्, ‘विगत् ३० वर्षमा के भयो र ५ वर्षमा के–के काम भए भनेर विश्लेषण सहित बुकलेट निकालेर जनताका बीचमा आउछौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...