नेपाली खानाको परिकार विश्वमा प्रचार गर्दै साह

315

काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२० का उपविजेता हुन्, नेपाली सेफ सन्तोष साह । एक सय एक प्रतियोगीलाई उछिन्दै नेपाली खाना प्रस्तुत गरेर उपविजेता बनेका उनी अहिले स्वदेशी खाना प्रवर्द्धनका लागि बेलायतबाट नेपाल आएका छन् ।

मंगलबार नेपाल पर्यटन बोर्डको सम्मान कार्यक्रममा सहभागी साहले नेपाली खानाको परिकार विश्वभरि प्रवर्द्धन गर्न विश्व खाना नक्सा (वल्ड फूड म्याप) र बेलायतमा नेपाली खानाका परिकार मात्र पाउने रेस्टुराँ सञ्चालन गर्ने घोषणा गरे । “नेपाली खाना प्रवर्द्धन गर्न पाँच नेपाली खानासहितको वर्ल्ड फूड म्याप बनाउँदैछौँ, चाँडै रेस्टुराँसमेत सञ्चालन गर्न लागेको छु, यसले नेपाली खानाको प्रचारप्रसारमा ठूलो सहयोग पुग्छ,” उनले भने ।

नेपाली खानाको परिकारमा विविधता रहेकाले नेपाली खानालाई विश्वभर प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ थियो । “नेपाल कृषि प्रधानसहित पर्यटनको अपार सम्भावना भएकाले गर्दा नेपाली खानालाई व्यवसायीकरण गर्न सकिन्छ, कोदो, ढिँडो, गुन्द्रुक, भटमासलगायतका नेपाली खाना धेरै मन पराउँछन्,” उनले भने, “यी खानाले पर्यटकलाई स्वागत गर्न सकेमा नेपाली खानाको विश्वभर पहिचान बन्छ ।” नेपाली खानाको विश्वव्यापीकरणका लागि नेपाल तथा विदेशमा रहेका नेपाली समुदायले नेपाली खानाको स्वादलाई सबैमाझ वर्णन गर्न सक्नुपर्ने उनको धारणा छ ।

साहले आफूले मास्टर सेफमा गएर नेपाली खानासँगै नेपाली भावनासमेत पस्केको र यसले हिमाल, पहाड र तराईको एकता र सद्भावालाई प्रतिनिधित्व गरेको बताए । उनले भने, “प्रतियोगिताको माध्यमबाट नेपाली खानाको अलवा नेपालीको नम्रता, नेपाली पहिरन, जन्मदिने आमा र जन्मभूमि नेपालप्रतिको सम्मानलाई विश्वमाझ पहिचान दिएँ ।”

कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सेफ साहले प्रतियोगिताका माध्यमबाट नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर नेपाल र नेपालीको पहिचानलाई विश्वभर नयाँ उचाइ दिएको बताए । यस्तै, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालमा प्रकृति, संस्कृतिका साथै पकवान पर्यटनको पनि उल्लेख्य सम्भावना रहेको बताए ।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्न सेफ साहको महत्वपूर्ण योगदान रहेको बताउदैं हानले पनि नेपाली खानाको प्रवद्र्धनका लागि विश्वभर छरिएर रहेका नेपाली समुदायमार्फत प्रवद्र्धन गरिरहेको बताइन् ।

नेपाली परिकार प्रस्तुत गरेर उपविजेता
सन् १९८५ मा सिरहा जिल्लाको कारजन्हामा जन्मिएका साहले मास्टर सेफ प्रतियोगिता भर नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर निर्णायकहरूलाई आकर्षित गर्न सफल हुँदै बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’ सिजनको उपविजेता बन्न सफल भएका थिए ।

प्रतियोगिताको माध्यमबाट सेफ साहले नेपाल र नेपालीको पहिचानका साथै कोदोको खीर, नेपाली गुन्द्रुक, साँधेको भट्टमासलगायतका नेपाली परिकार पस्केर निणर्यकको ध्यानाकर्षण गरेका थिए । सन् २०११ देखि बेलायतमा बस्दै आएका साहले त्यसअघि भारतका डिप्लोमा इन होटल क्याट्रिङ मेनेजमेन्टमा अध्ययन र विभिन्न होटलमा काम गरेका थिए ।

साहले प्रतियोगितमा मौलिक नेवारी परिकार ‘योमरी’ सहित प्याजको अचार, स्याउको चटनी, रोस्टेड काँक्रोको वियाँ, तरुलको खाना, बेथेको साग, तामाको अचार, भेडाको मासु, सिस्नु र आलुको तरकारी, भाङको चटनी, मकैको रोटीलगायतका नेपाली खानाका परिकार पस्किएका थिए । बीबीसी मास्टर सेफमा सहभागी हुने साह पहिलो नेपाली सेफ हुन् । कारोबार दैनिकबाट

Share This:
सम्बन्धित खबर
Loading...