सहकारीको प्रभावकारिता बढाउन सदस्यको सन्तुष्टिलाई ध्यान दिनुपर्छ : जिसी

247

स्याङ्जा । राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी व्यवसायलाई प्रभावकारी बनाउनका लागि सदस्यहरुको सन्तुष्टिलाई ध्यानमा राखेर काम गर्नु पर्नेमा जोड दिएका छन् । जिल्ला वचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको आठौँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन पछि बोल्दै उनले यस्तो बताएका हुन् ।

सहकारी सदस्य केन्द्रित व्यवसाय भएकाले सदस्यहरुको हितमा हुने योजना र कार्यक्रम बनाएर सदस्यहरुका लागि काम गर्ने सहकारीहरु कहिल्यै समस्यामा नपर्ने उनको भनाइ थियो ।

सदस्यहरुलाई ग्राहकका रुपमा लिने प्रवृतिका कारण सहकारीको मर्म व्यवहारमा कार्यान्वयन नभएको भन्दै उनले सदस्यहरुको हितलाई केन्द्रमा राखेर काम गर्ने सहकारीहरु सफल भएको दावी गरे । सहकारीमार्फत उद्यमशिलता विकासका लागि विभिन्न ऐनहरु वाधक रहेको चर्चा गर्दै उनले सहकारीमार्फत व्यवसाय सञ्चालनका लागि वाधक ऐनहरु परिमार्जन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का सञ्चालक कमलादेवी गिरीले सहकारीहरुलाई प्रभावकारी बनाउनका लागि प्रविधिको प्रयोगमा जोड दिइन् ।

जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारी अभियानलाई समृद्ध समाज निर्माणमा थप क्रियाशिल र प्रभावकारी बनाउनका लागि राज्य र सहकारीबीच सहकार्यमा जोड दिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका पूर्वअध्यक्ष पूण्यप्रसाद अर्याल र केशवराज लम्साल, जिल्ला वचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष अनन्त कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेल, संघका सल्लाहकार मुक्ति प्रसाद पाण्डे लगायतले शुभकामना व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...