काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी निरीक्षकसहित १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमध्ये ६ जनालाई नगदसहित वृद्धि विकासमा समेत सहयोग हुनेगरी अभिलेखमा जनिने गरी पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा प्रहरी हवल्दार शम्भु विश्वकर्मा, प्रहरी जवान अनिल महर, महेशराज पनेरु, रमेश सिंह बुडाल, बिन्दा थापा र राम आवतार राम रहेका छन् ।
नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एवम् निर्देशन दिँदै आएको छ, फलस्वरुप घुष दिन खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरी कारबाही गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन्, प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारबाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको, उनले बताए ।
यस आवमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एवम् प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।
यस कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत आर्थिक पारदर्शीता एवम् शून्य शहनसिलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई कारबाहीको दायरामा ल्याउन थप सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको छ ।
घुष फिर्ता गर्नेको नामवली