- टिकाराम सुनार
सुदूरपश्चिम, २९ साउन । बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ । तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग । पाइलटले हावाको दिशा नियाल्दै प्याराग्लाइडरको ‘क्यानोपी’ फुकाउँछ । केही सेकेन्डमै ऊ जमिनबाट छुट्टिएर आकाशतिर उक्लिन्छ । तलका गाउँहरू साना बिन्दुमा बदलिन्छन् । कर्णाली नदी चाँदीको धर्सो झैँ देखिन्छ । नदीले बनाएका टापु, चुरेका हरिया डाँडा, थारू बस्ती र तराईका फाँट आँखैअगाडि फैलिन्छन् ।
यो दृश्य हाल कल्पनामा मात्र सीमित छ तर कैलालीको राजकाँडा–डुडेझारी क्षेत्रमा गरिएको पूर्वसम्भाव्यता अध्ययनले यही कल्पनालाई व्यावहारिक सम्भावनाका रूपमा अघि सारेको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको उक्त अध्ययनले यहाँ प्याराग्लाइडिङ सञ्चालनका लागि भौगोलिक, प्राविधिक, मौसम, वातावरणीय तथा पर्यटनका आधार रहेको निष्कर्ष निकाल्दै सम्भावित उडान र अवतरण क्षेत्रसमेत पहिचान गरेको छ ।
अध्ययनले प्याराग्लाइडिङलाई एउटा साहसिक खेलका रूपमा मात्र नभई निर्माणाधीन जाल्पादेवी केबुलकार, कर्णाली नदी, चिसापानी, टीकापुर पार्क, थारू संस्कृति, होमस्टे र बर्दिया राष्ट्रिय निकुञ्जलगायत गन्तव्यसँग जोड्नसके कर्णालीवारी नयाँ पर्यटन ‘सर्किट’ निर्माण गर्न सकिने सम्भावना औँल्याएको छ ।
अध्ययनले देखाएको आकाश
प्याराग्लाइडिङका लागि आकाश मात्र पर्याप्त हुँदैन । भूगोल, हावाको अवस्था, उडान दुरी, ‘टेकअफ–ल्यान्डिङ’ क्षेत्र र सुरक्षा सबैको संयोजन आवश्यक हुन्छ । यही आधारमा गरिएको अध्ययनले कैलालीको राजकाँडा–डुडेझारी क्षेत्रलाई सम्भावनायुक्त देखाएको हो ।
अध्ययन प्रतिवेदनअनुसार मोहन्याल गाउँपालिका–७ स्थित राजकाँडाको मालिका÷जाल्पादेवी मन्दिर आसपासको भिरालो क्षेत्र वा हात्तीढुङ्गालाई सम्भावित उडान क्षेत्रका रूपमा पहिचान गरिएको छ । चुरे पहाडको टाकुरामा रहेको यो क्षेत्रमा लम्की बजारबाट कच्ची मोटरबाटो तथा चिसापानीबाट पैदलमार्ग हुँदै पुग्न सकिन्छ । हाल चिसापानीबाट यस क्षेत्रमा पुग्ने जाल्पादेवी केबुलकार निर्माणाधीन छ ।
अवतरणका लागि लम्कीचुहा नगरपालिका–३ को डुडेझारी क्षेत्र प्रस्ताव गरिएको छ । खुला भूभाग र उडान क्षेत्रसँगको भौगोलिक अवस्थाले यहाँ प्याराग्लाइडिङका लागि आवश्यक आधार रहेको अध्ययनको निष्कर्ष छ । चुरे पर्वत र कर्णाली नदी उपत्यकाको भौगोलिक संरचनाका कारण ‘भ्याली विन्ड’, ‘रिज लिफ्ट’ र ‘थर्मल एक्टिभिटी’ जस्ता हावाका अवस्था सिर्जना हुनसक्ने देखिएको छ । तर ‘टर्बुलेन्स’, ‘रोटर इफेक्ट’ र ‘विन्ड सियर’को जोखिम रहेकाले विभिन्न मौसममा परीक्षण उडान र थप प्राविधिक अध्ययन आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ ।
अध्ययन टोली प्रमुख प्राडा प्रेम शर्मा सम्भाव्यता देखिनु र व्यावसायिक उडान सुरु हुनुबीच अझै महत्त्वपूर्ण चरण बाँकी रहेको बताउनुहुन्छ । “अध्ययनले सम्भावनाको आधार देखाएको छ । व्यावसायिक रूपमा काम अगाडि बढेमा यहाँको सम्भावना अवसरमा बदलिन सक्छ”, उहाँ भन्नुहुन्छ ।
सम्भावना केबल उडानको होइन
नेपालको पर्यटनमा हिमाल, पदयात्रा, जलयात्रा, धार्मिक तथा प्राकृतिक गन्तव्यले प्रमुख स्थान ओगटेका छन् । पोखरा क्षेत्रले प्याराग्लाइडिङलाई पर्यटनको महत्त्वपूर्ण आधार बनाइसकेको छ तर पश्चिम नेपालका धेरै प्राकृतिक सम्भावना अझै चर्चामै सीमित छन् ।
सुदूरपश्चिममा कर्णाली र महाकालीजस्ता नदी, चुरेका वन, जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदा प्रशस्त छन् । यी सबैलाई जोडेर पर्यटकको बसाइँ लम्ब्याउने साहसिक गतिविधि सञ्चालन हुन सकेका छैनन् । यही अभावबीच राजकाँडा–डुडेझारीको प्याराग्लाइडिङले नयाँ सम्भावना देखाएको अध्ययन कम्पनी सिके रिसर्च एण्ड ग्रिनरी प्रमोशन प्रालिका कार्यकारी निर्देशक छिन्दुम भोटेले बताउनुभयो ।
प्याराग्लाइडिङ पाइलट तथा ‘इन्स्ट्रक्टर’ रामप्रसाद राईका अनुसार यहाँको प्राकृतिक दृश्य आफैँमा पर्यटन उत्पादन बन्न सक्ने आधार हो । “माथिबाट हेर्दा कर्णालीको बनोट सप्तकोशी जस्तै छ । नदीले बनाएको दृश्य र डाँडावरिपरिको दृश्य निकै मनमोहक छ । त्यसलाई चिन्न सक्नुपर्छ र व्यावसायिक योजना अगाडि सार्नुपर्छ, जसले स्थानीय अर्थतन्त्रलाई एउटा महत्त्वपूर्ण आकार दिनसक्छ”, उहाँ भन्नुहुन्छ ।
प्याराग्लाइडिङको वास्तविक सम्भावना उडानपछि सुरु हुने आर्थिक गतिविधिमा देखिन्छ । पाइलट, प्रशिक्षक, गाइड र ग्राउन्ड स्टाफ प्रत्यक्ष रोजगारीका क्षेत्र हुन् । होटल, होमस्टे, यातायात, रेष्टुरेन्ट, फोटोग्राफी, हस्तकला, कृषि तथा स्थानीय उत्पादनको बजार विस्तार भने अप्रत्यक्ष लाभका क्षेत्र हुन् । “चिसापानी पर्यटनको केन्द्र बन्ने सम्भावना देख्छु । त्यसले आन्तरिक पर्यटक मात्रै होइन, छिमेकी भारतबाट पनि साहसिक पर्यटकलाई आकर्षित गर्नसक्छ । एउटा नीति तथा योजना बनाएर काम गरेमा यहाँको आकाशले रोजगारी सिर्जना र अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो निष्कर्ष हो”, अध्ययन टोलीका सदस्यसमेत रहेका राई भन्नुहुन्छ ।
मोहन्याल गाउँपालिका–७ का वडाध्यक्ष नवराज कठायत व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन भए स्थानीयस्तरमा रोजगारी र आम्दानीको नयाँ आधार बन्न सक्ने बताउनुहुन्छ । “समुदायको सहभागितामा यस योजनालाई अघि बढाउन सके मोहन्याललगायत यस क्षेत्रको सामाजिक–आर्थिक रूपान्तरणमा टेवा पुग्ने हाम्रो विश्वास छ”, उहाँ भन्नुहुन्छ ।
लम्कीचुहा नगरपालिका–३ का अध्यक्ष लब बहादुर शाही पनि प्याराग्लाइडिङलाई जल पर्यटन, केबुलकार र राष्ट्रिय निकुञ्जको सफारीसँग जोडेर समग्र पर्यटन विकासका रूपमा अघि बढाउनुपर्ने बताउनुहुन्छ । “सम्भावनाको कुरा मात्रै गरेर हुँदैन । प्रदेश सरकारले त्यसको सार्थकताका लागि बाँकी काम अघि बढाउनुपर्छ । त्यसमा स्थानीयस्तरमा सहयोग गर्न हामी तयार छौँ”, उहाँ भन्नुहुन्छ ।
उडान एउटा, गन्तव्य धेरै
राजकाँडा–डुडेझारीको प्याराग्लाइडिङको ठूलो सम्भावना यसलाई छुट्टै गतिविधिका रूपमा नभई वरपरका गन्तव्य जोड्ने पर्यटन उत्पादनका रूपमा विकास गर्नुमा देखिन्छ । राजकाँडाबाट उडान गर्दा कर्णाली नदी, चिसापानी, चुरेका वन, तराईका फाँट र बस्तीको दृश्यावलोकन गर्न सकिन्छ । त्यसमा जाल्पादेवी मन्दिर र केबुलकार, चिसापानीको ¥याफ्टिङ, कायाकिङ तथा अन्य जल पर्यटन, टीकापुर पार्क, थारू संस्कृति, होमस्टे र स्थानीय परिकार जोड्न सकिन्छ ।
पश्चिमतर्फ घोडाघोडी ताल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पर्यटन सञ्जाल विस्तार गर्न सकिने सम्भावना रहेको अध्ययन टोली प्रमुख प्राडा शर्मा बताउनुहुन्छ । “कर्णाली पुल, कर्णाली नदी, बर्दिया राष्ट्रिय निकुञ्ज, मोहना नदीका डल्फिन, थारू संस्कृति, टीकापुर पार्क, स्थानीय परिकारदेखि शुक्लाफाँटाको बाह्रसिङ्गेसम्मलाई जोडेर पर्यटकीय सञ्जाल विस्तार गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ ।
यसरी एउटा प्याराग्लाइडिङ उडान बहुदिने पर्यटन ‘प्याकेज’मा बदलिन सक्छ । पर्यटक उडेर फर्किने मात्र होइन, केबुलकार चढ्ने, मन्दिर जाने, नदीमा रमाउने, होमस्टेमा बस्ने, स्थानीय खाना खाने र स्थानीय उत्पादन खरिद गर्ने अवस्थामा पुग्न सक्छ । यसले पर्यटकको बसाइँसँगै स्थानीय बजारमा हुने खर्च पनि बढाउन सक्छ । लम्कीचुहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कुमार तिमिल्सिना पर्यटकको बसाइँ र स्थानीय बजार विस्तार हुने भएकाले यस क्षेत्रमा निजी लगानी बढाउनुपर्ने बताउनुहुन्छ ।
केबुलकारसँगै नयाँ पर्यटन उत्पादन
राजकाँडा–डुडेझारीको प्याराग्लाइडिङ सम्भावनालाई निर्माणाधीन जाल्पादेवी केबुलकारले थप अर्थपूर्ण बनाएको छ । केबुलकार र प्याराग्लाइडिङ एउटै पर्यटन उत्पादनका दुई फरक अनुभव बन्न सक्छन्-एउटाले पर्यटकलाई पहाडको टाकुरासम्म पुर्याउने र अर्कोले त्यही उचाइबाट आकाशको यात्रा गराउने । जाल्पादेवी केबुलकार प्रालिका अध्यक्ष चन्द्रराज ढकाल सरकारले प्राविधिक तथा नीतिगत आधार तयार गरे निजी क्षेत्र सहकार्यका लागि तयार रहेको बताउनुहुन्छ । “सरकारले नीति बनाउने, निजी क्षेत्रले लगानी गर्ने र स्थानीय समुदायले अपनत्व लिने अवस्था बनेमा सम्भावनालाई अवसरमा बदल्न सकिन्छ । अहिले त्यहाँ जाने आधार तयार गर्न हामी केबुलकार निर्माणको अन्तिम चरणमा छौँ । त्यसपछि तीनै पक्ष मिलेर सम्भावित थप क्रियाकलाप गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ ।
कार्यकारी निर्देशक भोटे पनि केबुलकारसँग सहकार्य गरेर व्यावसायिक उठानका लागि काम हुन सके थोरै लगानीमा छिट्टै लाभ लिने अवस्था बन्ने बताउनुहुन्छ । “प्रदेश सरकारले नीतिगत, प्राविधिक र कानुनी आधार तयार गरिदिएमा हाल सञ्चालनमा रहेको केबुलकारसँगै सहकार्य गरेर छिटो काम हुनसक्छ । त्यसले कबुलकार चढेर गएको मान्छे, प्याराग्लाइडिङ चढेर फर्किने, जङ्गल सफारी, कर्णालीमा र्याफ्टिङ गरेर एउटै यात्रामा मनोरञ्जन लिने अवसर छ । त्यसको उपयोग गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।
अब कार्यान्वयनको पालो
सम्भाव्यता अध्ययनले आकाश देखाएको छ । निजी क्षेत्रले लगानीको इच्छा देखाएको छ । स्थानीय तहले रोजगारी र पर्यटन विकासको सम्भावना देखेका छन् । निर्माणाधीन केबुलकारले पूर्वाधारको अर्को आधार थप्दैछ, तर यी सबै सम्भावनालाई व्यावसायिक पर्यटनमा बदल्न अब कार्यान्वयनको चरण सुरु गर्नुपर्नेछ । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख डबलबहादुर बोहराका अनुसार व्यावसायिक उडानअघि पूर्वाधार, सुरक्षा प्रणाली, मौसमसम्बन्धी थप तथ्याङ्क, परीक्षण उडान, दक्ष पाइलट, हवाई क्षेत्रसम्बन्धी स्वीकृति र आपत्कालीन व्यवस्थापन सुनिश्चित गर्नुपर्नेछ ।
विस्तृत लागत–लाभ विश्लेषण र वित्तीय प्रक्षेपणसहित थप अध्ययन पनि आवश्यक रहेको उहाँको भनाइ छ । “सुरक्षित उडानका लागि स्पष्ट नीति, ‘टेकअफ–ल्यान्डिङ’ क्षेत्र व्यवस्थापन, आपत्कालीन उद्धार प्रणाली, बीमा, हवाई क्षेत्रसम्बन्धी स्वीकृति र दक्ष जनशक्ति आवश्यक छ । यस्तै, निजी क्षेत्रसँग साझेदारीको स्पष्ट ढाँचा र स्थानीय समुदायको क्षमता विकास पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसमा थप काम गर्छौं”, उहाँले भन्नुभयो ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष तिमिल्सिना स्थानीय समुदायको जीवन र सुदूरपश्चिमको पर्यटन अर्थतन्त्रमा योगदान पुग्ने गरी निजी क्षेत्र र सरकारले आवश्यक सहकार्य गरी चाँडै पूर्वाधार निर्माण र लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । “पर्यटक आएर मात्र अर्थतन्त्र बन्दैन । पर्यटकले गर्ने खर्च स्थानीय होटल, होमस्टे, यातायात, खाना, गाइड, हस्तकला र कृषि उत्पादन हुँदै समुदायभित्र कति समय र कति तहसम्म घुम्छ भन्ने कुराले वास्तविक लाभ निर्धारण गर्छ । त्यसको तयारीका लागि पनि सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो ।
सुदूरपश्चिम लामो समयदेखि प्राकृतिक सम्भावना भएर पनि पर्यटनको मूल प्रवाहबाट टाढा रहँदै आएको छ । राजकाँडा–डुडेझारीको अध्ययनले भने कर्णालीको किनारदेखि चुरेको टाकुरासम्म पर्यटनको नयाँ सम्भावनालाई आकाशसँग जोडेको छ । अब सरकार, निजी क्षेत्र र समुदाय एउटै दिशामा अघि बढ्न सके सुदूरपश्चिमको आकाशमा उड्ने प्याराग्लाइडर केबल साहसिक पर्यटनको साधनमा सीमित हुनेछैन । त्यो स्थानीय रोजगारी, लगानी, बजार र पर्यटन सर्किट जोड्ने नयाँ पर्यटन अर्थतन्त्रको उडान बन्न सक्छ । –रासस