काठमाडौँ, २ साउन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित सङ्गठन विस्तार अभियानलाई तीव्र बनाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले डिजिटल सदस्यता वितरणसँगै गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशभरी आगामी तीन महिनामा तीन लाख सदस्यता वितरण गर्ने भनेर डिजिटल सदस्यता वितरण र गाउँ–गाउँमा पुगेर जनतासँग संवादको एउटा बाटो पनि हुन्छ । सदस्यता वितरणले व्यापक रूपमा उज्यालो नेपाल पार्टीलाई जनतासम्म पुग्ने कार्यक्रममा धेरै सहयोग पुग्नेछ । आगामी तीन महिनाभित्र व्यापक रूपमा सदस्यता वितरण र संगठन निर्माणमा सबैजना लाग्नुहोला ।”
त्यसैगरी, अध्यक्ष घिसिङले वर्तमान राजनीतिक अवस्था र सरकारको भूमिकाप्रति चिन्ता व्यक्त गर्दै देश पुनः द्वन्द्वतर्फ उन्मुख हुन सक्ने आशङ्का रहेको बताउनुभयो । उहाँले सरकार र सबै राजनीतिक दलले गम्भीरता अपनाएर देशलाई द्वन्द्वबाट जोगाउन साझा प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “आज जुन हिसाबले देशमा सरकार र राजनीतिक पार्टीहरूले अहिलेको परिस्थितिमा विभिन्न किसिमको अवस्था सिर्जना गरेका छन् । यसरी करिब तीन–चार महिना पुग्न लाग्यो । तर, चार महिनाकै अवधिमा यो देशमा एक किसिमको द्वन्द्व सिर्जना हुने अवस्थामा पुग्न लागेको हो कि भन्ने शङ्का लागेको छ । यसमा सरकार अत्यन्त गम्भीर भएर लाग्नुपर्नेछ । सम्बन्धित सबै पार्टीहरू पनि यो देशलाई द्वन्द्वबाट बाहिर ल्याउन लाग्नुपर्छ । लामो समयको द्वन्द्वबाट नेपाल धेरै समय राजनीतिक द्वन्द्वमा फसिरह्यो । फेरि झन् ठुलो द्वन्द्वमा जाने अवस्था सिर्जना हुन लागेको हो कि भन्ने हामीले महसुस गरेका छौँ ।”
घिसिङले यस्तो अवस्था आउनुमा सरकारको सबैभन्दा ठुलो जिम्मेवारी रहेको दाबी गरे । दुई तिहाइको बहुमतसहित जनताबाट विश्वास प्राप्त सरकारले आम नागरिकको इच्छा, आकाङ्क्षा र मागलाई सम्बोधन गर्न जिम्मेवार ढङ्गले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले विगत तीन–चार महिनाकै अवधिमा पाँच जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै त्यसले देशको वर्तमान परिस्थिति गम्भीर बनेको सङ्केत गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुई तिहाईको सरकार जनताले सबैभन्दा ठुलो बहुमत दिएर पठाएको, जनताले विश्वास दिएर पठाएको सरकारले आम नागरिकको इच्छा, आकांक्षा र मागलाई सम्बोधन गर्नलाई जिम्मेवार भएर लाग्नुपर्छ । अहिले विगत तीन, चार महिनामै पाँच जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने परस्थिति सिर्जना भयो ।’