काठमाडौँ, २ साउन । नेपाली काङ्ग्रेसका युवा नेता तीर्थ गौतमले पार्टी सभापति गगन थापाले मनोमानी ढङ्गले पार्टी सञ्चालन गरिरहेको आरोप लगाउनुभएको छ ।
नेपाली काङ्ग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको तयारीबारे आयोजना गरिएको अन्तरक्रियापछि नेपाल न्युज बैङ्कलाई प्रतिक्रिया दिँदै गौतमले पार्टीभित्र लामो समयसम्म आफूहरू पर्खिए पनि नेतृत्वले कुनै सुनुवाइ नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी सभापति गगन थापा मनोमानी ढङ्गले अघि बढिरहनुभएको छ । हामीले धेरै समयसम्म कुर्यौँ । उहाँले पार्टी पुस्तान्तरण भयो भन्नुभयो तर पुस्तान्तरण हुँदाहुँदै हामीजस्ता युवालाई समेत पाखा लगाइयो । पार्टीका साथीहरू विक्षिप्त भए, पार्टीमा रहन सक्ने अवस्था पनि कमजोर हुँदै गयो । त्यसैले हामी ढङ्गबाट अगाडि बढिरहेका छौँ ।”
नेविसङ्घ र तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत रहनुभएका नेता गौतमले आगामी १५औँ महाधिवेशनका लागि थापा नेतृत्वको समूह एकलौटी रुपमा अगाडि बढिरहेको आरोप लगाउनुभयो ।
गौतमले पार्टीको हितका लागि आफूहरूले धैर्य गर्दै नेतृत्वको निर्णयको प्रतीक्षा गरेको भएपनि चार महिनासम्म कुनै ठोस निष्कर्ष नआएको दाबी गर्नुभयो । उहाँले पार्टीका साथीहरू विक्षिप्त अवस्थामा रहेको सुनाउनुभयो ।
थापाले वार्ताको नाटक गरेर गुटका मान्छेलाई अगाडि बढाएकाले आफूहरु फरक ढङ्गले पार्टी एकताका लागि प्रयास गरिरहेको बताउनुभयो । गौतम उदयपुरका सक्रिय काङ्ग्रेस नेता हुनुहुन्छ ।