३६ वर्षीय प्रधानमन्त्रीले युवाको भावना बुझ्छन्, स्वदेशमै अवसर दिन्छन् भन्ने अपेक्षा छ : सरोज बानियाँ [भिडिओ]
काठमाडौँ, ३१ असार । युवाको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले बुधबार विश्व युवा दक्षता दिवस मनाइँदै छ । विश्वभर बढ्दो बेरोजगारी, श्रम बजारमा आवश्यक सीपको अभाव र योग्यताअनुसार रोजगारी नपाउने समस्यालाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका रूपमा मनाउने सङ्कल्प गरेपछि यो दिवस विश्वभर मनाउन थालिएको हो । विशेषगरी युवा जनशक्तिलाई आवश्यक सीप, प्रविधि र रोजगारीसँग जोड्ने उद्देश्यले यो दिवसले विश्वव्यापी बहस सिर्जना गर्दै आएको छ ।
नेपालजस्तो ठुलो युवा जनसङ्ख्या भएको देशका लागि पनि युवा दक्षता र सीप विकास महत्त्वपूर्ण विषय बनेको छ । डेढ दशकदेखि युवा अधिकार र सामाजिक मुद्दामा अभियान चलाउँदै आएका युवा अभियन्ता सरोज बानियाँका अनुसार पछिल्लो समय नेपालमा भएको राजनीतिक परिवर्तनपछि युवाहरूले रोजगारी, उद्यमशीलता र आफ्नो भविष्य निर्माणका विषयमा ठुलो अपेक्षा राखेका छन् ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा नेपाल युवा परिषद्का संस्थापक समेत रहनुभएका उहाँले रोजीरोटी, जनजीविका र भविष्यसँग जोडिएका विषयमा वर्तमान सरकारसँग युवाहरुले ठ३लो अपेक्षा राखेको बताउनुभयो ।
“विशेषगरी जेनजी आन्दोलनपछि नेपालमा एउटा राजनीतिक परिवर्तन भयो । त्यसपछि देश निर्वाचनमा गयो र नयाँ जनमत निर्माण भयो । अहिले नेपाली युवाहरूले हरेक दिनको रोजीरोटी, जनजीविका र भविष्यसँग जोडिएका विषयमा ठुलो अपेक्षा राखेका छन्,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार अहिलेको युवा पुस्ताको मुख्य चाहना आफ्नै देशमा अवसर सिर्जना गर्नु हो । विदेश जानुपर्ने बाध्यता कम गर्दै नेपालमै उद्यम गर्ने, आफ्नो श्रम र सीप प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।
“युवाहरूले आफ्नै देश र यही भूमिमा सानो भए पनि उद्यम गर्न, पसिना र श्रम आफ्नै देशको विकासमा प्रयोग गर्न सकौँ भन्ने चाहना राखेका छन् । साथै विश्वभर बढिरहेका प्रतिस्पर्धात्मक अवसरलाई नेपालबाटै उपयोग गर्न सक्ने वातावरण राज्यले बनाइदिनुपर्छ,” उहाँले भन्नुभयो ।
बानियाँले अहिले देशको नेतृत्वमा युवाको उपस्थिति बढेको उल्लेख गर्दै त्यसअनुसार युवामैत्री नीति तथा कार्यक्रम आउनुपर्ने बताउनुभयो । “अहिले देशको प्रधानमन्त्री नै ३६ वर्षको युवा हुनुहुन्छ । मन्त्रीपरिषद्मा पनि युवाको प्रतिनिधित्व छ । संसद्मा पनि ठुलो सङ्ख्यामा युवा आएका छन् । यस्तो अवस्थामा युवाका लागि सीप, प्रविधि र रोजगारीसँग सम्बन्धित अझ प्रभावकारी कार्यक्रम आउने अपेक्षा स्वाभाविक हो,” उहाँले भन्नुभयो ।
तर, युवाको नाममा छुट्टै कार्यक्रम मात्र नभइ हरेक क्षेत्रको नीति र कार्यक्रममा युवालाई केन्द्रमा राख्नुपर्ने उहाँको धारणा छ ।
उहाँले भन्नुभयो, “युवा भनेको एउटा छुट्टै क्षेत्र मात्र होइन, यो सबै विषयसँग जोडिने क्रस–कटिङ विषय हो । एआई, प्रविधि, नवप्रवर्तन, डिजिटल साक्षरता, उद्यमशीलता सबै क्षेत्रमा युवाको भूमिका हुन्छ ।”
उहाँका अनुसार सरकारका नीति तथा कार्यक्रमहरूमा युवासँग सम्बन्धित विषय समेटिए पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको छ ।
“हामीले अपेक्षा गरेको स्तर ठुलो थियो । नेपाल अहिले जनसाङ्खिक लाभको अवस्थामा छ । युवा जनसङ्ख्या हाम्रो अवसर हो, तर त्यसलाई उपयोग गर्न आवश्यक सीप र अवसर सिर्जना गर्न अझ धेरै काम गर्न बाँकी छ,” उहाँले भन्नुभयो ।
‘एक युवा, एक सीप’ आवश्यक
युवा अभियन्ता वानियाँले नेपालले अब ‘एक युवा, एक सीप’ अवधारणालाई अघि बढाउनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सके नेपाली युवाले अन्तर्राष्ट्रिय श्रम बजारमा पनि राम्रो अवसर पाउन सक्छन् ।
“हामीसँग ठुलो युवा जनशक्ति छ तर धेरै जना आवश्यक सीपबिना वैदेशिक रोजगारीमा जान बाध्य छन् । राज्यले बजारको मागअनुसार सीप सिकाएर पठाउन सके उनीहरूको आम्दानी बढ्छ र जोखिम पनि कम हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । विशेषगरी सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डेटा विश्लेषण, सफ्टवेयर विकास, डिजिटल सेवा र फ्रिलान्सिङजस्ता क्षेत्रमा युवालाई सक्षम बनाउनुपर्ने उहाँको सुझाव छ ।
“अबको समय परम्परागत रोजगारीको मात्र होइन, प्रविधिमा आधारित कामको समय हो । एउटा कम्प्युटर र इन्टरनेटको माध्यमबाट नेपालमै बसेर विश्व बजारसँग जोडिन सकिने अवस्था आएको छ,” उहाँले भन्नुभयो ।
वैदेशिक रोजगारीमा जाने युवालाई सीप आवश्यक
नेपालबाट ठुलो संख्यामा युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने गरेका छन् । तर, धेरैजसो युवा पर्याप्त सीपबिना विदेश जाने हुँदा न्यून पारिश्रमिक र जोखिमपूर्ण काम गर्न बाध्य हुने गरेका छन् ।
उहाँले भन्नुभयो, “खाडी मुलुकमा जाने धेरै युवा अझै पनि सामान्य श्रमिकका रूपमा जान्छन् । उनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा आवश्यक पर्ने सीप दिएर पठाउन सके उनीहरूको आम्दानी र जीवनस्तर दुवै सुधार हुन सक्छ ।”
उहाँका अनुसार विदेश जान चाहने युवालाई पनि आधारभूत कम्प्युटर ज्ञान, भाषा, प्रविधि र व्यावसायिक सीप दिन आवश्यक छ । विश्वभर काम गर्ने शैली परिवर्तन भइरहेको उल्लेख गर्दै बानियाले नेपालका युवाले पनि नयाँ प्रविधिसँग आफूलाई अपडेट गर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार कोभिड–१९ पछि विश्व अर्थतन्त्र नयाँ ढङ्गबाट अघि बढेको छ । अहिले कृत्रिम बुद्धिमत्ता, गिग इकोनोमी र डिजिटल रोजगारीको विस्तार भइरहेको छ ।
“पहिले बिहान कार्यालय जाने र निश्चित समयमा काम गर्ने प्रणाली थियो । अहिले प्रविधिले काम गर्ने शैली परिवर्तन गरिरहेको छ । अब संसारभरका कम्पनीका लागि नेपालबाटै काम गर्न सकिने अवस्था आएको छ,” उहाँले भन्नुभयो ।
उहाँले सरकारले फ्रिलान्सिङ, डिजिटल काम र अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई सहज बनाउनुपर्ने बताउनुभयो । नेपालमा अझै पनि अन्तर्राष्ट्रिय भुक्तानी, डेटा पहुँच र डिजिटल पूर्वाधारका समस्या रहेको उहँको भनाइ छ ।
“हामीले केही सिक्न खोज्दा पनि अन्तर्राष्ट्रिय सेवा प्रयोग गर्न समस्या हुन्छ । सफ्टवेयर किन्न, अनलाइन तालिम लिन र विभिन्न डिजिटल सेवामा पहुँच पाउन कठिनाइ छ । यस्ता समस्या समाधान गर्न राज्यले सहज वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
युवासम्बन्धी संस्थालाई प्रभावकारी बनाउनुपर्ने
बानियाँले युवाका लागि स्थापना गरिएका सरकारी संरचनाहरूलाई सक्रिय बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार राष्ट्रिय युवा परिषद्, युवा स्वरोजगार कोषलगायतका संस्था प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्था छ ।
“पुराना संरचना काम लाग्दैनन् भनेर हटाउनेभन्दा पनि पुनर्गठन गरेर नयाँ सोच र नेतृत्वका साथ अघि बढाउनुपर्छ । संस्था खराब होइन, नेतृत्व र कार्यशैलीले परिणाम निर्धारण गर्छ,” उहाँले भन्नुभयो ।
उहाँले युवालाई नेतृत्वमा ल्याएर यस्ता संस्थालाई प्रभावकारी बनाउन सकिने बताउनुभयो ।
सीप विकाससँगै सचेतना पनि आवश्यक
युवा क्षेत्रमा काम गर्दा केवल नीति बनाएर मात्र नहुने भन्दै बानियाँले युवालाई सचेत र शिक्षित बनाउनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार राज्यले नियम लागु गर्दा पहिले जनचेतना फैलाउन आवश्यक हुन्छ । “हाम्रो जस्तो विकासशील देशमा एकैपटक कडा कारबाहीभन्दा पहिले शिक्षा र सचेतना आवश्यक हुन्छ । युवालाई नियम, अवसर र जिम्मेवारीबारे जानकारी गराउनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले सामाजिक सञ्जालमार्फत युवालाई सचेत गराउने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
विश्व युवा दक्षता दिवसको अवसरमा बानियाँले युवालाई आफ्नो क्षमता विकासमा ध्यान दिन आग्रह गर्नुभयो । “आज तपाईंको मोबाइल, ल्यापटप र इन्टरनेट नै संसारसँग जोडिने माध्यम हो । तपाईंले चाहनुभयो भने धेरै कुरा सिक्न सक्नुहुन्छ । आफूलाई कहिल्यै रोक्नु हुँदैन,” उहाँले भन्नुभयो ।
उहाँले युवालाई हरेक दिन एउटा नयाँ कुरा सिक्ने बानी विकास गर्न आग्रह गर्नुभयो । “एआईका उपकरण, डेटा विश्लेषण, नयाँ प्रविधि र डिजिटल सीप सिक्नुस् । यसले तपाईंलाई नेपालमै बसेर पनि विश्व बजारसँग प्रतिस्पर्धा गर्ने क्षमता दिन्छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार सरकारले अवसर सिर्जना गर्ने काम गर्नुपर्छ तर युवाले पनि आफ्नो क्षमता विकासमा सक्रिय भूमिका खेल्नुपर्छ । “हातमा सीप लिनुस् । आफ्नो माटोलाई समृद्ध बनाउन युवाले नेतृत्व लिनुपर्छ । देश परिवर्तन गर्ने समय अहिलेको युवा पुस्ताकै हो,” उहाँले भन्नुभयो ।
विश्व युवा दक्षता दिवसले नेपालसहित विश्वभरका युवालाई सीप, प्रविधि र अवसरसँग जोड्ने बहसलाई अघि बढाएको छ । नेपालले आफ्नो युवा जनशक्तिलाई सही सीप र अवसरसँग जोड्न सके यो जनसङ्ख्या चुनौती नभइ आर्थिक विकासको ठुलो शक्ति बन्न सक्ने युवा अभियन्ता बानियाँ बताउनुहुन्छ । –नेपाल न्युज बैङ्क