भोजपुर, ९ असार । भोजपुरको पौवादुङमा गाउँपालिका–४ बास्तिमका वडाध्यक्ष रमेश राई यति बेला कृषि क्षेत्रमा एक उदाहरणीय व्यक्तित्वका रूपमा चिनिन थाल्नुभएको छ ।
जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषिमा सक्रिय सहभागिता जनाउँदै आउनुभएका उहाँले व्यावसायिक लिची खेतीमार्फत मनग्य आम्दानी गरिरहनुभएको हो । परम्परागत खेती प्रणालीलाई आधुनिक सोच र व्यवस्थापनसँग जोड्दै उहाँले गाउँमा बसेर सफल कृषि उद्यम सम्भव छ भन्ने सन्देश दिनुभएको छ । करिब १५ वर्षअघि सामान्य रूपमा सुरु गरिएको उहाँको खेती अहिले व्यवस्थित बगैँचामा रूपान्तरण भएको छ । हाल राईले करिब १० रोपनी क्षेत्रफलमा लिची र आँपको बगैँचा विस्तार गर्नुभएको छ ।
बगैँचामा करिब ८० वटा लिचीका बोट रहेका राईले जानकारी दिनुभयो । ती बोटले पहिल्ला वर्षहरूमा मनग्य उत्पादन दिन थालेका उहाँले बताउनुभयो । एउटा बोटबाट मात्रै वार्षिक करिब दुई लाख रूपैयाँसम्म आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो । यसवर्ष पनि अनुकूल मौसमका कारण उत्पादन राम्रो भएको भन्दै बजारमा बिक्रीका लागि तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
आँप र लिची खरिद गर्न ठेकेदार बगैँचामै पुग्ने गरेका छन् । जसले गर्दा उत्पादन बिक्रीका लागि बजार धाउनुपर्ने झन्झट छैन । यसले समय र लागत दुवै बचत भएको राईको अनुभव छ । “उत्पादन राम्रो भए बजार आफैँ आउँदो रहेछ”, उहाँले भन्नुभयो, “लिची खरिदका लागि ठेकेदार बगैँचा आएपछि बजारीकरणको समस्या छैन ।”
लिची र आँपमा मात्र सीमित नरही राईले बहुआयामिक खेती प्रणाली अपनाउनुभएको छ । उहाँले थप १५ रोपनी क्षेत्रफलमा कागतीखेती विस्तार गर्नुभएको छ । मौसमी फलफूलसँगै वहुवर्षीय बोटबिरुवाको संयोजनले उहाँको कृषि व्यवसायलाई अझ दिगो र जोखिम न्यूनीकरणतर्फ उन्मुख बनाएको उहाँको भनाइ छ ।
जनप्रतिनिधिको जिम्मेवारी सम्हालेर बचेको व्यस्त समयबीच पनि कृषिलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको राईले बताउनुभयो । “काम गर्ने इच्छाशक्ति भए समय निकाल्न सकिन्छ”, उहाँले भन्नुभयो, “फलफूलका लागि अन्य बालीको जस्तो धेरै समय पनि दिन पर्दैन ।” कृषिलाई केवल जीविकोपार्जनको माध्यम मात्र नभइ व्यवसायका रूपमा स्थापित गर्न सकेमा प्रशस्त आम्दानीको सोत बन्ने उहाँको भनाइ छ ।