ट्राफिक स्वयंसेवक परिचालनलाई निरन्तरता दिँदै ट्राफिक महाशाखा

353

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।

महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३ सय जना ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण गरी काठमाडौंका विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिएको छ । महाशाखाले स्वयंसेवकलाई १० दिन सम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ ।

काठमाडौं उपत्यकाको सवारी चाप हुने तथा बढी भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्ने र नियम पालना गर्न सन्देश प्रबाह गर्ने एसएसपी भट्टराईले जानकारी दिए ।

स्वयंमसेवक परिचालनबाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र आम सडक प्रयोगकर्तालाई सहजता मिल्नेमा आफू विश्वस्त रहेको भट्टराईले बताए ।

उपत्यकामा वर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटना परि अनाहकमा ज्यान गुमाउनुको साथै अंगभङ्ग हुने गरेको छन् । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी लापरबाही तरिकाले सडक पार गर्ने र जथाभावी हिँड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले त्यसलाई रोक्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाले जनाएको छ ।

यसअघि महाशाखाले नेपाल स्काउट, युवा विद्यार्थीहरुलाई समेत प्रशिक्षण दिई विभिन्न चरणमा ट्राफिक स्वयमंसेवक परिचालन गरिएको र त्यसको प्रभावकारितासँगै यसलाई निरन्तरता दिएको बताएको छ ।

कार्यक्रममा प्रहरी अधिकृतहरु, उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारीहरु तथा ट्राफिक स्वयमंसेवकहरुको उपस्थिति रहेको थियो । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा थप परिचालन बढाउँदै लगिने महाशाखाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...