तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमुना अभ्यास

11

टीकापुर, २३ जेठ । पथरैया र कर्णाली नदीको तटीय क्षेत्रका ३२ समुदायमा बाढीबाट बच्चे उपायसम्बन्धी कृत्रिम नमुना अभ्यास गरिएको छ । कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका ३२ समुदायलाई सचेत गराउने उद्देश्यले बाढीबाट आइपर्ने जोखिम, बच्ने उपायलगायत विषयमा नमुना अभ्यास गरिएको हो ।

नमुना अभ्यासका क्रममा बाढी आउँदा कसरी सुरक्षित हुने, उद्धार र सुरक्षितस्थानमा जाने तरिकालगायत विषयमा व्यवहारिक ज्ञान प्राप्त भएको स्थानीयले बताएका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका र प्राक्टिकल एक्सन बी ग्रुपको सहकार्यमा स्थानीय विपद् व्यवस्थापन समितिले नमुना अभ्यास गरेका हुन् ।

नमुना अभ्यास तीन चरणमा आधारित भएर सर्तकता, चेतावनी तह, खतरा तहलगायत विषयमा गरिएको स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष फुलकुमारी चौधरीले जानकारी दिनुभयो । टीकापुरको वडा नम्बर ६ भर्तापुरमा ८४ घर छन् । हरेक वर्ष बर्खामा यहाँ पथरैया नदीका कारण बाढीको जोखिम रहन्छ ।

बाढी आएमा प्रभावितलाई बस्नका लागि दुई तले उच्च र सुरक्षित घर व्यवस्थापन गरिएको समितिका अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो । नमुना अभ्यासका क्रममा समुदायमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बाढीका कारण दुर्घटनामा परेकालाई उद्धार गरेर ल्याइएको थियो । बाढी आउँदा समुदायमा गठन भएका खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदलको सक्रियता पनि बढाइएको उहाँको भनाइ छ ।

समितिका अध्यक्ष चौधरीले नमूना अभ्यासमा सहभागी भए जसरी नै बाढीको समयमा एकअर्कालाई साथ दिन र उद्धारमा खटिन स्थानीयलाई आग्रह गर्नुभयो । “आपत्कालीन अवस्थामा कसलाई र कहाँ सम्पर्क गर्ने भन्ने जानकारी दिएका छौँ । आपतकालिन नम्बर पनि सुरक्षित राख्नुपर्छ भन्ने सिकाइ भयो”, उहाँले भन्नुभयो, “बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सुरक्षा पहिलो प्राथमिकता दिएर अभ्यास गरेका छौँ ।” स्थानीय आशादेवी चौधरीले विपद्का समयमा पूर्वसूचनामा ध्यान दिने, विपद् पूर्वतयारी, जोगिने उपाय, उद्धारमा खटिँदा ध्यान दिनुपर्ने कुरालगायत विषयमा जानकारी पाइएको बताउनुभयो ।

टीकापुर गाउँपमलिका–६ का वडासदस्य पूर्णबहादुर नायकले बाढी आएको समयमा पूर्वसूचनामा विश्वास गर्न, समयमा सबैलाई सुरक्षित स्थानमा सार्न समुदाय सचेत हुनुपर्ने बताउनुभयो । “हामीले समुदायलाई बाढीजन्य विपद्को सामना गर्न सक्षम बनाउने उद्देश्यले नमुना अभ्याससहित सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “समुदाय सचेत र तयारी भए मात्र विपद्का समयमा कम क्षति हुन्छ ।”

प्राक्टिकल एक्सन बी ग्रुपका कार्यक्रम अधिकृत अञ्जु चौधरीले कर्णाली र पथरैया नदीको तटीय क्षेत्रका स्थानीयलाई बाढीका समयमा सुरक्षित रहने उपाय सिकाउन नमूना अभ्यास गरिएको बताउनुभयो । उहाँले सतर्कता तह, चेतावनी तह, खतरा तह भएमा कसरी सुरक्षित रहने भनी समुदायलाई सचेत गराइएको जनाउँदै तीन चरणको सूचनाका आधारमा कृत्रिम घटना अभ्यास गरिएको बताउनुभयो ।

कैलालीको टीकापुर नगरपालिकामा मात्रै समुदायस्तरमा ८० भन्दा बढी विपद् व्यवस्थापन समिति छन् । ती समितिमा खोज उद्धार र प्राथमिक उपचार कार्यदल पनि छन् । पालिकाले विभिन्न सङ्घसंस्थाको सहयोगमा उनीहरूको क्षमता अभिवृद्धिलगायत कार्य गर्दै आएको छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...