काठमाडौँ, १९ जेठ । राष्ट्रियसभाको बैठक भोलि बुधबार १२ः१५ मा बस्नेगरी स्थगित भएको छ । कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ । आजको बैठक सुरु हुनेबित्तिकै सांसदले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कारबाही अगाडि बढ्न नसक्ने धारणा राख्नुभयो ।
सभाध्यक्ष नारायणप्रसाद दाहालले पटकपटक सदनको कारबाही अगाडि बढाउन आग्रह गर्नुभएको थियो । उहाँले विभिन्न कार्यसूची अगाडि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो । सांसदहरूले असहमति प्रकट गर्नुभयो ।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची थियो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो ।
त्यसैगरी, अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम थियो ।
त्यसअघि सांसद पदमबहादुर परियारले राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठेको उल्लेख गर्दै प्रधानमन्त्रीले सदनमा आएर कुन ठाउँमा कति भूमि मिचिएको हो भनी प्रमाणसहित जानकारी दिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै, सांसद घनश्याम रिजालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउनुभएको थियो ।
सांसद रोशनी मेचेले नेपालले अहिलेसम्म एक इन्च पनि सीमा नमिचेको जिकिर गर्नुभयो । सांसद महन्त ठाकुरले भारतको केही जग्गा उपभोग गरेको भए पनि मिचिएको भन्न नमिल्ने धारणा राख्नुभयो । सांसद तुलप्रसाद विश्वकर्माले ‘जमिन उपभोग गर्नु’ र ‘सीमा मिच्नु’ नितान्त फरक कुरा भएकाले यसबारेमा थप प्रष्ट पार्नुपर्ने बताउनुभयो ।
लामो समयदेखि लिम्पियाधुरा र लिपुलेकमा भारतीय सेना राखेर नेपालको भूमि भारतीय पक्षले अतिक्रमण गरेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल–भारत सीमा समस्या समाधानमा जटिलता आउने तर्क गर्नुभयो ।