खाँदबारी, १२ जेठ । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण नदीको सतिघाटमा फेरी सञ्चालन बन्दभएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो ।
अरुण नदीमा जलस्तर बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा फेरी सञ्चालन रोकिएको छ । नदी धमिलो र पानीको सतह बढेपछि अरुणमा फेरी चल्न नसकेको हो । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका–६ र खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी एक सातादेखि बन्द भएको षडानन्द नगरपालिकाका उपप्रमुख प्रमिला राईले बताउनुभयो । यो वर्षको मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द गरिएको हो ।
भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग जोड्ने षडानन्द नगरपालिका–६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, को सीमानामा पर्ने सतीघाटमा पुल नबनेकाले विकल्पको रूपमा अरुण नदीमा फेरी राखिएको छ । भोजपुरको षडानन्द नगरपालिकाले निर्माण सामग्री, दैनिक उपभोग्य वस्तु लैजान र यात्रुलाई आवतजावत गर्नका लागि फेरी सञ्चालनमा ल्याएको थियो ।
अरुण नदीमा राखिएको फेरीले षडानन्द नगरपालिका–६ र खाँदबारी नगरपालिका–९ जोड्छ । यो भोजपुरको उत्तरी क्षेत्रलाई खाँदबारी हुँदै तराईसँग सिधा जोड्ने सडकखण्ड हो । लम्सुवा घाटमा मोटरेबल पुल निर्माण नभएपछि भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाको सहजताका लागि सत्तिघाटमा चार वर्षयता फेरी सञ्चालनमा ल्याइएको थियो । फेरीबाट दैनिक १०० भन्दाबढी ठुला र साना यातायात आवतजावत गर्छन् ।
अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो । –रासस