काठमाडौँ, ५ जेठ । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताउनुभएको छ ।
विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र भएको बताउनुभयो । उहाँका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो ।
उहाँले भन्नुभयो, “पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौँ । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो । अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन पर्यो ।”
विपिनका अनुसार चलचित्रले प्रेमलाई केवल ठुला संवाद वा भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ । उहाँले श्रीमान्–श्रीमतीबिचको समझदारी, त्याग र सँगै खुसी भएर बाँच्ने भावनालाई चलचित्रको केन्द्रमा राखिएको बताउनुभयो ।
“साना–साना कुरामा पनि प्रेम प्रकट हुन्छ । श्रीमतीको खुसीमा आफ्नो खुसी खोज्ने, एकअर्काका लागि त्याग गर्ने यस्ता सुक्ष्म भावनालाई ‘काजी’ले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छ,” उहाँले भन्नुभयो ।
कार्कीका अनुसार चलचित्रले प्रेमलाई केवल संवाद वा भावनामा सीमित नगरी व्यवहारिक जीवनका साना–साना पक्षमा खोजेको छ। “ठुला–ठुला प्रेमका कुरा मात्रै होइन, व्यवहारका साना कुरामा पनि प्रेम हुन्छ । यही कुरा ‘काजी’ले सुक्ष्म ढंगले देखाएको छ,” उहाँले भन्नुभयो, “मलाई लाग्छ फिल्म हेरेपछि दर्शकले ‘काजी–कजिनीको प्रेम पो प्रेम’ भन्नुहुनेछ ।”
विपिनले आफू पनि वैवाहिक जीवन बाँचिरहेको व्यक्ति भएकाले पात्र बुझ्न धेरै कठिन नभएको अनुभव सुनाउनुभयो ।
उहाँले काजीको पात्रलाई आफ्नो जीवनसँग नजिक महसुस गरेको बताउनुभयो । “म आफैँ पनि एउटा श्रीमान् हुँ । त्यसैले यो पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु । अन्य केही फिल्ममा जस्तो धेरै तयारी गर्नुपरेन,” उहाँले भन्नुभयो ।
चलचित्रको समय परिवेश २०५० सालअघिको रहेको र आफूले निभाएको पात्र ‘काजी खानदान’ को विरासत बोकेको युवक भएको उहाँले बताउनुभयो । प्रेममा डुबेको, बाहिरी संसारसँग खास सरोकार नराख्ने पात्र आफूले यसअघि नगरेको भन्दै उहाँले यसलाई चुनौतीपूर्ण र नयाँ अनुभवका रूपमा लिएको बताउनुभयो ।
अभिनयबारे बोल्दै विपिनले आफूले हरेक पात्रलाई फरक बनाउने प्रयास गर्ने गरेको उल्लेख गर्नुभयो । दर्शकको अपेक्षाले जिम्मेवारी बढाएको स्वीकार्दै उहाँले अझ राम्रो काम प्रस्तुत गर्ने प्रयास जारी रहने बताउनुभयो ।
चलचित्रको ट्रेलर र गीतप्रति दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै उहाँले अहिलेको नेपाली चलचित्रभन्दा फरक स्वाद दर्शकले ‘काजी’मा पाउने दाबी गर्नुभयो । विशेषगरी ‘वारि वर पारि पिपलु’ गीत टिकटकमा भाइरल भइरहेकाले पनि चलचित्रले राम्रो माहोल बनाइरहेको उहाँको भनाइ छ ।
उहाँले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मले चलचित्र प्रचारमा ठुलो सहयोग पुगेको उल्लेख गर्दै राम्रो कथा, बलियो प्रस्तुति र टिमवर्क नै दर्शक हलसम्म तान्ने मुख्य आधार भएको बताउनुभयो ।
चलचित्रमा केकी अधिकारीको पनि अभिनय रहेको छ । विपिनका अनुसार निर्देशक, निर्माता र सम्पूर्ण कलाकार टोलीले इमान्दारीपूर्वक मेहनत गरेका छन् ।
उहाँले दर्शकलाई ‘काजी’ हेर्न आग्रह गर्दै यो चलचित्रले निराश नबनाउने विश्वास व्यक्त गर्नुभयो । “यो घर–घरको कथा हो । दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ । अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोणको चलचित्र हो,” उहाँले भन्नुभयो ।
लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यस फिल्ममा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतमलगायतको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा रहेको यस फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन् ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेका छन् । चिन्तन राजभण्डारीको छायाङ्कन, कालीप्रसाद बास्कोटाको सङ्गीत र विपिन मल्लको सम्पादन रहेको फिल्म ‘काजी’लाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने जिम्मेवारी लिएको छ ।
क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ र असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको सङ्गीत, कविराज गहतरजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रङ संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइनर र सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत, प्रोडक्सन हेड प्रकाश हमाल, विपिन मल्लको सम्पादन, बनिश शाहको सुपरभाइजर सम्पादनमा बनेको छ । –नेपाल न्युज बैङ्क