मोरङ, १४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशले आज निर्माण क्षेत्रको समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएको छ ।
मुख्यमन्त्री कार्कीसहित प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनवारलाई महासङ्घका प्रदेश अध्यक्ष जनसेवक भण्डारीसहितको टोलीले पेट्रोलियम पदार्थलगायत निर्माण उद्योगलाई आवश्यक सामग्रीको मूल्यवृद्धिअनुसार मूल्य समायोजन एवम् म्याद थपका लागि ज्ञापनपत्रमा आग्रह गरिएको छ ।
टोलीले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्री सुनुवारसँग अलगअलग भेट गरेर ज्ञापनपत्र बुझाएको हो । मुख्यमन्त्री कार्कीले ज्ञापनपत्र बुझ्दै ज्ञापनपत्र बुझ्दै निर्माण क्षेत्रमा देखिएको सङ्कटप्रति सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले व्यवसायीहरूले उठाएका विषयलाई प्राथमिकताका साथ अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले निर्माण क्षेत्र एवम् पूर्वाधार विकासमा देखिएको सङ्कटले सबै क्षेत्रलाई असर पार्ने धारणा राख्नुभयो । त्यसैगरी भौतिक पूर्वाधार विकासमन्त्री सुनुवारले निर्माण व्यवसायीको माग जायज रहेकाले समस्या समाधानका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।