उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

0

नवलपरासी, १३ वैशाख । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

मध्यविन्दु नगरपालिका–६ बरुवाका किसान दुर्गाप्रसाद भुर्तेल उत्पादनअनुसार मूल्य नपाउँदा बीचमै व्यवसाय छोड्नुपर्ने अवस्था आएको गुनासो गर्नुभयो । विगत ३० वर्षदेखि केराखेती सुरू गर्नुभएका उहाँले नौ वर्षयता व्यावसायिक केराखेती गर्दै आएनुभएको छ ।

“हाल केरा बेच्दा प्रतिकोसा पाँच/छ रूपैयाँ मात्रै पाइरहेका छौँ । लागत, मेहनत र जोखिम हेर्दा यो मूल्यले त टिक्नै गाह्रो छ”, भुर्तेलले भन्नुभयो, “रोग–किरा, हावाहुरी तथा असिनापानीका कारण उत्पादनमा समेत निरन्तर असर परिरहेको छ, जसले लागत झन् बढाएको छ ।”

यस्तै, कावासोती नगरपालिका–१३ की फुलकुमारी महतोले अन्य बालीभन्दा राम्रो आम्दानी हुने अपेक्षासहित चार बिघा जमिनमा केराखेती गर्दै आए पनि उचित मूल्य नपाउँदा निराशा बढ्दै गएको बताउनुभयो । “लाखौँ लगानी गरेर खेती गरेका छौँ, तर सस्तोमा बेच्नुपरेको छ, तर बजारमा भने उपभोक्ताले महँगो तिरिरहेका छन् । बिचमा कसले फाइदा लिएको छ, बुझ्नै गाह्रो छ”, उहाँले भन्नुभयो ।

कावासोती कृषिउपज थोक बजार व्यवस्थापन समितिका अनुसार आज केराको थोक मूल्य प्रतिदर्जन १३२ रूपैयाँ र खुद्रा मूल्य १५० रूपैयाँसम्ममा बिक्री भइरहेको छ । किसानले भने यही केरा प्रतिदर्जन ६० रूपैयाँदेखि ७२ रूपैयाँसम्म मात्र पाउने गरेका छन् । किसान र उपभोक्ताबीचको यो ठुलो मूल्य अन्तरले बजार प्रणालीप्रति नै प्रश्न उठाएको छ ।

बिचौलिया नियन्त्रण, उचित समर्थन मूल्य निर्धारण तथा प्रत्यक्ष बजार पहुँच सुनिश्चित गर्नसके आफूहरूलाई राहत मिल्ने किसान दुर्गाप्रसाद भुर्तेलले बताउनुभयो । समयमै प्रभावकारी नीति नल्याए केराखेतीप्रति किसानको आकर्षण घट्ने जोखिम रहेको उहाँले बताउनुभयो ।

कृषि विकास कार्यालयका सूचना अधिकारी सञ्जय ढकालका अनुसार जिल्लामा हाल ५५१ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । उत्पादन बढ्दो क्रममा रहे पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा भने असन्तुलन रहेको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...