मच्छिन्द्रलाई इलाम गोल्डकपको उपाधि

18

इलाम, १३ वैशाख ।  डिफेन्डिङ च्याम्पियन एनआरटीलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब काठमाडौँले इलाम गोल्डकपको तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा एनआरटीलाई २–० गोलअन्तरले हराउँदै मच्छिन्द्रले उपाधि हात पारेको हो । योसँगै एनआरटीको उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा ब्रेक लागेको छ ।

राष्ट्रिय तथा विभिन्न उमेर समूहका खेलाडी सम्मिलित दुवै टोलीबीचको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दुवै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल हुन सकेन । तर, दोस्रो हाफ सुरु भएसँगै मच्छिन्द्रले खेलमा पकड जमायो । दोस्रो हाफको दोस्रो मिनेटमै सौरभ सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि मिलन चाम्लिङले अर्को गोल थप्दै मच्छिन्द्रलाई २–० गोलको सुरक्षित अग्रता दिलाए, जुन अन्त्यसम्म कायम रह्यो ।

उपाधिसँगै मच्छिन्द्रले १० लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता एनआरटीले पाँच लाख रूपैयाँमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका प्रदीप बुढाथोकी घोषित भए । उनले आठ हजार १०० रूपैयाँ प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका प्रदीप भण्डारी, उत्कृष्ट डिफेन्डर एनआरटीका आशिष गुरुङ, उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका युवराज ढकाल, सर्वाधिक गोलकर्ता मच्छिन्द्रका मिलन चाम्लिङ र उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटुवाल घोषित भए । उनीहरूले जनही १५ हजार रूपैयाँसहित ट्रफी प्राप्त गरे ।

उदीयमान खेलाडी रेडहर्षका विवेक सुनाम घोषित भए । उनले २५ हजार रूपैयाँसहित ट्रफी पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका सनिस श्रेष्ठ घोषित भए । उनले ५१ हजार रूपैयाँसहित ट्रफी प्राप्त गरे ।

रेडहर्ष फुटबल क्लबको आयोजनामा यही वैशाख ५ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।

Share This:
सम्बन्धित खबर
Loading...