चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ : मनोविद् ढकाल [भिडिओ]

7

पार्वती भण्डारी

काठमाडौँ, ३० चैत । नेपालमा पछिलो समय विभिन्न खालका अपराधिक घटनाहरू घट्नेक्रम बढेको छ । यस्ता घटनाले विकृतिहरू पनि बढेका छन् । रिस र आवेशमा सामान्य कुरालाई ठुलो बनाएर हत्यासम्म हुने गरेका घट्नालाई मनोरोगसँग जोडिने गरेका छन् । साथै मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग पनि सम्बन्धित हुने गरेका छन् ।

यसै सन्दर्भमा नेपाल न्युज बैङ्कसँगको कुराकानीमा मनोविद् गोपाल ढकालले युवापुस्तामा चिन्ता (एनजाइटी), डर–त्रास, डिप्रेसन तथा लागुपदार्थ र जाँडरक्सीको कुलत जस्ता समस्या व्यापक बन्दै गएको बताउनुभयो ।

सामाजिक सञ्जाल र अनलाइन गेमप्रतिको लतले युवाहरु डिप्रेसन जाने गरेका छन् । पछिलो समय सामाजिक सञ्जाल, अनलाइन गेमको लत जस्ता समस्याहरूले किशोर किशोरीहरूको मस्तिष्कमा अपराधिक सोच बढेको हुनसक्ने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, “मानिसहरुमा एनजाइटिब, डर–चिन्ता, डिप्रेसन, लागुपदार्थ सेवन, जाँडरक्सीको कुलत बढेको छ । डिप्रेसनमा जाने, निरास हुनेक्रम पनि बढ्दो छ । पछिल्लो समय मानिसमा सामाजिक सञ्जाल, अनलाइन गेमको लत जस्ता समस्याहरू बढेका छन् ।”

उहाँले मानिसमा निराशा, आक्रोश बढ्नुको मुख्य कारण डिप्रेसन, एनजाइटिब, तनाव, लागुपदार्थ सेवन, सोसल मिडिया र अनलाइन गेमको कारणले आक्रोश बढ्न सक्ने उल्लेख गर्नुभयो । साथै अनिन्द्रा र खानपानको कारणले गर्दा पनि मानिसहरू रिसाउने गरेको उहाँले बताउनुभयो ।

डा.ढकालका अनुसार जेनजी आन्दोलनका क्रममा आपराधिक क्रियाकलाप, उत्तेजनाको काम र राज्यको संरचनामा क्षति पुर्‍याउने कामहरू भनेको आक्रोश हो । लामो समयदेखि युवापुस्तामा आक्रोश, निराशा र कुन्ठा दबेर बसेकाले राजनीतिक रूपमा बिस्फोट भएको हो । जेनजी आन्दोलनको आक्रोश सामाजिक, आर्थिक, बिभेद र बेरोजगारी जस्ता धेरै कुराहरु जोडिएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “जेनजी आन्दोलनको आक्रोश सामाजिक, आर्थिक, विभेद्‌ र बेरोजगारी जस्ता धेरै कुराहरु जोडिएको थिए,” उहाँले भन्नुभयो, “यसलाई मानिसहरूले राजनीतिक रूपमा अभिव्यक्त गरेका हुन् । देश बिग्रेको राजनीतिले नै गर्दा हो भन्ने सोच थियो । तर, सबै कुरा राजनीतिक मात्र होइन समाज, शिक्षा, बुझाइ र चेतनास्तर जस्ता कुराले प्रभाव पार्दछ ।”

उहाँले भन्नुभयो, “लामो समयदेखि युवा पुस्ताहरुमा आक्रोश, निराशा, कुन्ठा दबेर बसेको हामीले देख्यौँ । त्यो राजनीतिक रूपमा बिस्फोट भयो । कुनै न कुनै रूपमा बिस्फोट हुने नै थियो । तर, त्यो राजनीतिक रूपमा बिस्फोट भयो । त्यसैले राजनीतिक रूपमा परिवर्तन भयो । तर, त्यो आक्रोशको आन्दोलन थियो ।”

समाजमा आर्थिक, सामाजिक समस्या, विभेद्‌, बेरोजगारी, मानसिक स्वास्थ्य समस्याहरू अझै समाधान हुन नसकेको उल्लेख गर्नुभयो । युवाहरूमा नीति र अनुशासन नहुनु, कुलतमा फस्नेक्रम बढेको देखिन्छ । यसको परिणामहरू पछिलो हत्या र हिंसाका घटनाहरू बढ्दै गएको उहाँले बताउनुभयो ।

समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक, वेरोजगारी साथै विभेद्‌ विभिन्न खालका हुनसक्ने भएकाले त्यसविरुद्ध आक्रोश पैदा हुने गरेको र आन्दोलनको रुप लिने गरेको उहाँले सुनाउनुभयो ।

पछिलो समय महत्वकाङ्क्षा बढ्दै गएको तर महत्त्वकाङ्क्षा पूरा गर्न नसक्नु, बेरोजगारसँगै समाज देखावटी हुँदै जानुले मानिसमा निराशा, रिस, आक्रोश बढेर गएको उहाँले बताउनुभयो ।

तर, मानसिक रोग भने विभिन्न कारणले हुने गरेको उहाँले प्रष्ट पार्नुभयो । “मानसिक रोग धेरै कारणले हुन्छ । सामाजिक विभेद्‌, राजनीतिक अस्थिरता, बेरोजगारी, सामाजिक सञ्जालको प्रयोग साथै विदेशिनुका कारण पनि मानसिक समस्या आएको हुनसक्छ,” उहाँले भन्नुभयो, “कतिपय चाहिँ आफ्नै जीवन शैलीका कारण, आवश्यकता, शिक्षा, स्वास्थ्य जस्ता कारणले मानसिक समस्या हुने गर्दछ ।”

उहाँले मानसिक रोगलाई पनि शारीरिक रोग जस्तै सामान्य रुपमा लिन आग्रह गर्नुभयो । अन्धविश्वासलाई हटाउने र शिक्षा, चेतना विस्तार गर्ने, मानसिक स्वास्थ्यको ख्याल गर्न उहाँको सुझाव छ ।

“राज्यले पनि यस क्षेत्रमा लगानी गर्नुपर्‍यो । जनचेतना बढाउनुपर्‍यो । सेवालाई सर्वसुलभ बनाउनपर्‍यो । यसबाट मानसिक रोगलाई रोकथाम गर्न सकिन्छ,” डा.ढकालले भन्नुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...