काठमाडौँ, १९ चैत । नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमति, सहकार्य र सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको पहिलो बैठकमा उहाँले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै भविष्यमा यस्तो अवस्था आउन नदिन दूरदर्शी नीति र स्थिर सरकार आवश्यक रहेको बताउनुभयो ।
विगत ३५ वर्षमा द्वन्द्व, भूकम्प तथा कोभिड–१९ महामारीजस्ता चुनौतीका बाबजुद देशमा पूर्वाधार, विद्युत्, सञ्चार, स्वास्थ्य र वित्तीय क्षेत्रमा प्रगति भएको उल्लेख गर्दै नेता आङ्देम्बेले ‘केही पनि भएन’ भन्ने निराशावादी धारणा यथार्थमा आधारित नभएको तर्क गर्नुभयो ।
उहाँले विभिन्न लोकतान्त्रिक आन्दोलनदेखि पछिल्लो जेनजी विद्रोहसम्म ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब देशमा पुनः हिंसा दोहोरिन नदिन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताउनुभयो । नेता आङ्देम्बेले २०४६ सालको जनआन्दोलन, सशस्त्र द्वन्द्व, २०६२/६३ को जनआन्दोलन, मधेस आन्दोलनलगायतका सङ्घर्ष स्मरण गर्दै फरक विचार भए पनि सबै एउटै राष्ट्रिय लक्ष्यमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले संसदीय लोकतान्त्रिक प्रणालीलाई नेपालको साझा मार्गका रूपमा व्याख्या गर्दै बिपी कोइरालाले प्रस्ताव गरेको यो प्रणालीप्रति सबै राजनीतिक शक्ति पुनः प्रतिबद्ध भएको उल्लेख गर्नुभयो । नेता आङ्देम्बेले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै पहिलो दलका रूपमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी तथा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले गत भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्दै संसद् भवन र सिंहदरबारमा भएको क्षतिको यथार्थ सार्वजनिक गर्नुपर्ने बताउनुभयो । दोषीलाई कारबाही र निर्दोषलाई संरक्षण गर्नुपर्ने नेता आङ्देम्बेको भनाइ थियो ।
उहाँले नयाँ सरकारलाई संविधान र जनअपेक्षाविपरीत काम भए प्रतिपक्षले सशक्त रूपमा खबरदारी गर्ने उल्लेख गर्नुभयो । यसैबीच, उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री सुशीला कार्की, निर्वाचन आयोग, सुरक्षा निकाय तथा सञ्चारकर्मीप्रति निर्वाचन सम्पन्न गर्न योगदान पुर्याएकामा आभार व्यक्त गर्नुभयो ।