आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण र भद्दा नाटक हो : अध्यक्ष ओली

34

काठमाडौँ, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगले तयार पारेको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण र ‘भद्दा नाटक’ भएको टिप्पणी गर्नुभएको छ ।

बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले फौजदारी संहिता २०७४ को दफा १८१ र १८२ लाई आधार बनाएर ल्याइएको सिफारिस कानुनी रूपमा मेल नखाने र मानसिक रूपमा दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाउनुभयो ।

“पूर्वाग्रहपूर्ण प्रतिवेदन ल्याउनका लागि कतै ठाउँ नपाएपछि फैजदारी संहिता २०७४ को दफा १८१ र १८२ भन्ने कतै मेल नखाने दफा मानसिक रुपमा तनाव दिने प्रयत्नसहित आयोगले गरेको कू–कर्म हो । यसमा हामी दुःख व्यक्त गर्छौँ । यस्ता कुरा हाम्राविरुद्ध छन् । प्रधानमन्त्री भएबापत अपराधी हुनुपर्ने ? अत्यन्तै स्तरहीन क्रियाकलाप भइरहेको छ, यो एउटा भद्दा नाटक हो,” उहाँले भन्नुभयो ।

उहाँले कतै ठाउँ नपाएपछि नमिल्ने दफा प्रयोग गरेर प्रतिवेदन ल्याइएको भन्दै यो आयोगको कू–कर्म भएको आरोप लगाउनुभयो ।

ओलीले प्रधानमन्त्री पदमै बसेका व्यक्तिलाई अपराधीकरण गर्ने प्रयास भइरहेको भन्दै यस्तो गतिविधि अत्यन्त स्तरहीन रहेको प्रतिक्रिया दिनुभयो ।

ओलीले बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीति झल्काउने गरी प्रतिवेदन आएको आरोप लगाउँदै यसलाई निन्दनीय, खेदजनक र अस्वीकार्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “छानबिन गर्ने र मुद्दा चलाउने सिफरिस गरेको छ । दफा १८१ र १८२ घटनास्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्छ र उसबाट घटना प्रत्यक्ष रुपमा घटाएको हुनुपर्छ । अनि मात्र लापरवाही गरेर ज्यान गयो भन्ने हुन्छ । प्रधानमन्त्रीले न गोली चलाउँछ न आदेश दिन्छ । यो कानुनी हिसाबले सिफारिस गर्नै नमिल्ने कुरा हो । न्यायाधीश भइसकेको मान्छेले यति कुरा नबुझ्ने भन्ने छैन । यो बद्‌नाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीति प्रकट भएको मात्र हो त्यसैले यो निन्दनीय, खेदजनक र अस्वीकार्य छ ।”

Share This:
सम्बन्धित खबर
Loading...