काठमाडौँ, ७ चैत । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उहाँहरूको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । बसचालक दोलखा घर भइ कपन बस्ने ३५ वर्षीय मान बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताउनुभयो ।