सङ्खुवासभाका १६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी

40

खाँदबारी, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जिल्लामा मतदान जारीे छ । जिल्लाको १६४ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरू भएको मतदान उत्साहपूर्वक रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला सिर्जना थपलियाले जानकारी दिनुभयो । जिल्लाका सबै मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत रहेको र जिल्लाको सबै क्षेत्रसहित सीमामा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपनकुमार श्रेष्ठले खाँदबारी–१ टुँडिखेल मतदान केन्द्रबाट मतदान गर्नुभयो थियो ।

त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार अर्जुन कार्कीले खाँदबारी–९ को मनकामना रत्न अम्बिका माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सरिता थापाले पाँचखपन–९ जलजलबाट मतदान गर्नुभयो ।

जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित एक लाख १९ हजार ६३० मतदाता रहेका छन् । जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । सङ्खुवासभामा एक स्वतन्त्र, तीन महिलासहित १६ जना चुनावी मैदानमा रहेका छन् । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्रमा रहेको यस जिल्लामा एक अस्थायीसहित १६५ मतदान केन्द्र छन् ।

त्यस्तैगरी मतगणनाका जिल्ला समन्वय समितिको सभाहलमा मतगणनास्थल समेत तयार पारिसकिएको छ । गणनास्थलको झ्याल–ढोकामा तार जालीको अग्लो बार लगाइएको छ । गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९८४ कर्मचारी खटिएका छन् । –रासस

Share This:
सम्बन्धित खबर
Loading...