सर्लाही, १५ फागुन । जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सबइन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनामा नियुक्तिको अवसर हात पार्ने उद्देश्यले योजनाबद्ध हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले वैकल्पिक उम्मेदवार गणेश कुमार महतोसहित तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान तथा हातहतियारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
सिरहा सुखीपुर नगरपालिका–९ वैशख घर भइ हाल सर्लाही मलङ्गवा नगरपालिका –१० मा डेरा गरी बस्दै आएका यादवलाई गत फागुन ३ गते साँझ करिब ७ः५५ बजे फोन गरेर डेराबाट बाहिर बोलाइएको थियो । प्रहरीका अनुसार उनी बाहिर निस्किएको केहीबेरमै गोली प्रहार भएको थियो । छातीमा गोली लागेको अवस्थामा फेला परेका उनलाई प्रहरीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको थियो ।
उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । पोस्टमार्टम प्रतिवेदनमा छातीमा लागेको गोली नै मृत्युको कारण उल्लेख गरिएको छ ।
घटनापछि प्रहरीले सुक्ष्म अनुसन्धान, प्राविधिक विश्लेषण, इन्टेलिजेन्स परिचालन तथा मृतकका परिवार, नातागोता र सहकर्मीहरूसँग सोधपुछ गरेको थियो । अनुसन्धानका क्रममा महोत्तरी रामगोपालपुर नगरपालिका–५ घर भइ सर्लाही बरहथवा नगरपालिका–९ शान्तिटोलमा डेरा गरी बस्ने ३४ वर्षीय गणेश कुमार महतो मुख्य योजनाकार रहेको खुलेको छ ।
महतो सर्लाहीकै रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकका रूपमा कार्यरत थिए । महतो मधेस प्रदेश लोक सेवा आयोग जनकपुरधामबाट सहायक पाँचौँ तह सबइन्जिनियर पदका एक मात्र वैकल्पिक उम्मेदवार रहेको र उक्त पदमा मुख्य सिफारिस भएका उम्मेदवार भने यादव रहेको खुलेको प्रहरीले जनाएको छ ।
नियुक्ति भएको व्यक्ति एक वर्षभित्र पद रिक्त भए मात्र वैकल्पिक उम्मेदवारलाई अवसर प्राप्त हुने कानुनी व्यवस्थाको गलत बुझाइका आधारमा महतोले हत्या योजना बनाएको प्रहरीको दाबी छ । यसअघि पनि पटक पटक वैकल्पिक उम्मेदवार बने पनि नियुक्ति नपाएको कारण उनी असन्तुष्ट रहेको अनुसन्धानमा उल्लेख छ ।
प्रहरीका अनुसार महतोले आफूलाई ‘राकेश यादव’ नामबाट चिनाउँदै मृतकसँग सम्पर्क बढाएका थिए । कामको सिलसिलामा फोन सम्पर्क गर्ने क्रममा उनले आफ्नो वास्तविक परिचय लुकाएका थिए ।
मृतकको ह्वाट्सएपमा उनको नम्बर ‘राकेश यादव’ नाममै सेभ रहेको पाइएको छ । घटनाको दिन पनि उनले ह्वाट्सएप कल गरेर यादवलाई डेराबाट बाहिर बोलाएका थिए । बाहिर आएलगत्तै साथमा ल्याएको पेस्तोलबाट छातीमा गोली प्रहार गरी उनी फरार भएका थिए ।
घटनामा बसबरीया गाउँपालिका–२ मानपुरका २२ वर्षीय चन्द्र किशोर सिंह कुशवाहा समेत संलग्न रहेको खुलेको छ । उनी गणेशका साला नाता पर्ने व्यक्ति हुन् । प्रहरीका अनुसार दुवै जना भारतीय नम्बर प्लेट बिआर ०१ एफजेड १०८२ नम्बरको मोटरसाइकलमा चढी बरहथवाबाट मलंगवा पुगेका थिए ।
गोली प्रहारपछि सोही मोटरसाइकलमा भागी रौतहट गढीमाई नगरपालिका–५ बलुवास्थित बागमती नदीको बाँधछेउ मोटरसाइकल छाडेर फरार भएका थिए । उक्त मोटरसाइकल भोलिपल्ट बेवारिसे अवस्थामा फेला परेको थियो ।
अनुसन्धानमा गणेशका भाइ २२ वर्षीय विजय कुमार महतोको पनि संलग्नता खुलेको छ । प्रहरीका अनुसार गणेशले दसैँअघि नै विजयलाई ८० हजार रुपैयाँ दिएर हतियार खरिद गर्न लगाएका थिए । विजयले सोही रकममा पेस्तोल खरिद गरी दाजुलाई उपलब्ध गराएको प्रारम्भिक बयानमा उल्लेख छ । घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको छ ।
घटनामा प्रयोग भएको भनिएको पेस्तोल उक्त घटना घटेको केही दिनपछि मलङ्गवा नगरपालिका–४ ढाका बोर्डर टोलस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र स्थानीय बालकले फेला पारेका थिए । नक्कली ठानेर पट्काउँदा पेस्तोल चलेर बालक घाइते भएका थिए । सोही हतियार नै घटनामा प्रयोग भएको पाइएको छ ।
प्रहरीले गणेशलाई फागुन १२ गते मलङ्गवा–८ बाट, चन्द्र किशोरलाई फागुन १३ गते बलरा–४ बाट र विजयलाई फागुन १४ गते महोत्तरी रामगोपालपुर–५ बाट पक्राउ गरेको हो । गणेशको साथबाट एक थान भिभो वाई१९एस मोबाइल र घरबाट भिभो टी ३ ५जी तथा बेनको ई ६ मोबाइल बरामद गरिएको छ । ती मोबाइल तथा अन्य डिजिटल प्रमाणको प्राविधिक परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।
तीनै जनाविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
संहिता अनुसार ज्यान मार्ने नियतले गरिएको कसुरमा जन्मकैदसम्म सजाय हुनसक्छ भने इजाजतपत्रबिना हातहतियार कारोबार गरेमा सात वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ ।
प्रहरीले घटनालाई पूर्वयोजनाबद्ध आपराधिक षड्यन्त्रका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।