नेपालगञ्ज, ११ फागुन । बाँकेमा नमुना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै जाँदा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागितामा आइतबार मतदान अभ्यास गरिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन नमुना मतदान अभ्यासले सघाउ पुर्याउने जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताउनुभयो । निर्वाचन प्रक्रियामा त्रुटि हुन नदिन सहयोग पुग्ने उल्लेख गर्दै उहाँले विभिन्न मतदान केन्द्रमा निर्वाचन सुरु हुँदादेखि अन्त्यसम्मको प्रक्रियाबारे मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई जानकारी हुने उल्लेख गर्नुभयो ।
शान्ति पूर्ण रूपमा निष्पक्ष निर्वाचन गराउन अपनाइने तरिकाबारे जानकारी दिनु नमुना मतदान अभ्यासको उद्देश्य रहेको शाहीको भनाइ छ ।
यहाँ १६० मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको र चरण चरणमा सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई पुनः नमुना मतदान अभ्यासद्वारा प्रशिक्षित गराइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले मतदान अभ्यास प्रक्रियामा सहजीकरण गर्नुभएको थियो । यस्तो अभ्यास तथा प्रशिक्षण फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।