ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु

19

खाँदबारी, ४ फागुन । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित सानो यार्क्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु भएको छ ।

स्काभेटर चालक चिचिला गाउँपालिका–३ दिदिङका ३८ वर्षीय देवराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो । स्काभेटर चालक राई साङ्ग्रिला ऊर्जा कम्पनीमा कार्यरत थिए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । उनको शव परीक्षणका लागि आजै जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

त्यसैगरी पाँचखपन नगरपालिका–२ भिरकुनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा सिर्जना तामाङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट तामाङको घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट हुँदा दुई लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...