वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक : वनमन्त्री चौलागाईं

12

काठमाडौँ, २८ माघ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले देशको समृद्धिका लागि वातावरण संरक्षणसँगै दिगो पूर्वाधार विकास आवश्यक रहेकामा जोड दिनुभएको छ ।

नेपाल वातावरण पत्रकार समूह र अर्थ जर्नालिजम नेटवर्कको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दुवै विषयसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी हाल आफूले सम्हालेको र सोहीअनुसार समन्वय गरिरहेको जानकारी गराउनुभयो । मन्त्री चौलागाईंले मुलुक समृद्धि र जनताको आयआर्जन वृद्धिका लागि प्राकृतिक स्रोतको दिगो उपयोगमा जोड दिँदै यसमा सञ्चार क्षेत्रको समन्वयकारी भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

उहाँले जनतालाई सुशासनको प्रत्याभूति प्रदान गर्न तीनै तहका सरकार र सरोकारवाला निकाय सबैले जिम्मेवारी निर्वाह गर्नुपर्ने र भएका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री चौलागाईंले भन्नुभयो, “तीनै तहका सरकारबीच संविधानअनुसारको सहकार्य र समन्वयको मर्र्म आत्मसाथ नहुँदा सङ्घीयता दिगो हुन सक्दैन, त्यसैले सबै तहका सरकारले आफ्नो जिम्मेवारी अनुसार कर्तव्य निर्वाह गर्नु आवश्यक छ ।”

कार्यक्रममा नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिक्यू लोरेञ्जोले वातावरण संरक्षण गर्न, विपद्का समयमा जनताका आवाज बुलन्द गर्न र जनताका मुद्दा सरोकारवालासम्म पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । अर्थ जर्नालिजम नेटवर्कका एसिया क्षेत्रीय प्रबन्धक एमी सिमले नेटवर्कका बारेमा अवगत गराउँदै वातावरण पत्रकारहरूले वातावरण संरक्षणमा कसरी योगदान गरिरहेका छन् भन्नेबारे चर्चा गर्नुभयो ।

अर्थ जर्नालिजम नेटवर्कका दक्षिण एसिया संयोजक रमेश भुसालले सामाजिक सञ्जालको तीव्र विकासपछिको वर्तमान अवस्थामा पत्रकारिताका नयाँ आयाम बारेमा प्रस्तुति गर्दै सञ्चार क्षेत्रले प्राकृतिक स्रोत व्यवस्थापन तथा हरित आर्थिक वृद्धिमा गर्न सक्ने भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो ।

उद्घाटनपछि समूहगत छलफलमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष डा(जुद्धबहादुर गुरुङ, पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, विश्व वन्यजन्तु कोषका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङ, निवर्तमान सांसद प्रतिमा गौतम, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका महासचिव पार्वता गौतमले प्राकृतिक स्रोत व्यवस्थापन तथा हरित आर्थिक वृद्धिका लागि गर्नुपर्ने नीतिगत सुधार र सञ्चार क्षेत्रको भूमिका बारेमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...