महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन : निशा अधिकारी

19

काठमाडौँ, २५ माघ । अभिनेत्री तथा काठमाडौँ–५ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार निशा अधिकारीले महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरू व्यक्तिगत आलोचना नभइ समाजमा गहिरो रूपमा जरा गाडेको महिला–विरोधी सोचको प्रतिबिम्ब भएको बताउनुभएको छ ।

गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार अधिकारीले सामाजिक सञ्जालमा लेख्दै यस्ता शब्द र अभिव्यक्तिलाई असहमति वा बहसको रूपमा लिन नसकिने उल्लेख गर्नुभएको छ । उहाँले यो सार्वजनिक जीवनमा सक्रिय महिलालाई डराउन, चुप गराउन र राजनीतिबाट हटाउन प्रयोग गरिने हिंसात्मक भाषा भएको बताउनुभयो ।

अधिकारीले आफूले पाएको समर्थन, विश्वास र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै त्यसले घृणाभन्दा ठुलो शक्ति आशा र एकता भएको प्रमाणित गरेको बताउनुभयो । साथै उहाँले महिलालाई अपमान गरेर राजनीति शुद्ध नहुने, लोकतन्त्र बलियो नबन्ने र समाज अगाडि नबढ्ने स्पष्ट धारणा राख्नुभयो ।

उहाँले लेख्नुभएको छ, “महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरूले महिलाको हैसियत होइन, हाम्रो समाजमा गहिरो गरी जरा गाडेको महिला–विरोधी सोच प्रतिबिम्बित गर्छ। यस्तो भाषा असहमति होइन । यो बहस होइन । यो शक्ति र डरबाट जन्मिएको, महिलालाई सार्वजनिक जीवनबाट हटाउन, डराउन र चुप गराउन प्रयोग गरिने हिंसा हो ।”

समर्थकलाई सम्बोधन गर्दै उहाँले घृणाभन्दा धेरै ठुलो शक्ति, आशा र एकता भएको तर्क गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन । लोकतन्त्र बलियो हुँदैन । समाज अगाडि बढ्दैन ।”

Share This:
सम्बन्धित खबर
Loading...