ठूलो मात्रामा लागुऔषधसहित ४ जना पक्राउ

221

नवलपरासी पूर्व । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले यही मंगलबार ठूलो मात्रामा लागुऔषध ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जना व्यक्तिलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

जिल्ला नवलपरासी विनयी त्रिवेणी नगरपालिका-१ दुम्किवास बजारस्थित पूर्व पश्चिम राजमार्गमा जाँचमा खटिएको प्रहरी टोलीले भैरहवाबाट काठमाण्डौं आउँदै गरेको लु२ख७८१ नम्बरको बसमा सवार जिल्ला मोरङ विराटनगर नगरपालिका-६ बस्ने वर्ष १९को विशाल ऋशिदेब (मुसहर)को साथबाट नुर्फिन ३९८, फेनारगन ३९८ र डाइजापाम ३९८ गरी जम्मा ११९४ एम्पुल लागुऔषध बरामद गरेको छ ।

त्यस्तै सोही स्थानमा नै चेकिङका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ३४६४ नम्बरको बसमा सवार जिल्ला तनहुँ ब्यास नगरपालिका-१ बस्ने वर्ष २७ को मिन बहादुर थापा मगरको साथबाट नुर्फिन २८, फेनारगन २८ र डाइजापाम २८ गरी जम्मा ८४ एम्पुल बरामद गरेको छ ।

साथै जिल्लाकै कावासोती नगरपालिका-१६ चालिस किलोको जंगलमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ग १ ख ९९८८ नम्बरको बसमा चेकजाच गर्ने क्रममा बसमा सवार जिल्ला चितवन रत्ननगर नगरपालिका-२ बस्ने वर्ष २० का अनुरुप अधिकारी र जिल्ला धादिङ जलजला गाँउपालिका ५ बस्ने वर्ष १७ का सन्दीप अधिकारीको साथबाट नुर्फिन १७, फेनारागन १७, डाइजापाम १७ गरी जम्मा ५१ एम्पुल लागुऔषध फेलापारी निजहरुलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले उनीहरु ४ जना व्यक्तिहरुको साथबाट जम्मा १३२९ एम्पुल लागुऔषध बरामद गरेको हो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...