नेपाली चलचित्र ‘आ’बाट आमा’ को ट्रेलर सार्वजनिक

42

काठमाडौँ, ७ माघ । यही माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ’बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार एक विशेष समारोहकाबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा अभिनेत्री विपना थापालाई अभिनेता पल शाहको आमाको भूमिकामा देख्न सकिन्छ भने बुबाको भूमिका भारतीय वरिष्ठ कलाकार प्रदीप रावतले निर्वाह गर्नुभएको छ । ग्रामीण परिवेशका आमा–बाबु र सन्तानबिचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर फिल्मका निर्देशक चन्द्र पन्तले कथा बुन्नुभएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रको मुख्य भूमिकामा रहनुभएकी अभिनेत्री विपना थापाले यो चलचित्रबाट अझ धेरै कुरा सिक्ने मौका पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्र ‘आ’बाट आमा माघ १६ मा प्रदर्शन हुँदै छ । आएर प्रतिक्रिया दिनुहोस् । कस्तो चलचित्र बनेको छ म भन्दिनँ आज । यो जिम्मेवारी मेरो दर्शकको हो । यो चलचित्रबाट मैले अझ धेरै कुरा सिक्ने मौका पाएको छु ।”

उक्त फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता पल शाहले यो फिल्म दर्शकहरुलाई मन पर्नेमा आफू विश्वसत रहेको बताउनुभयो । उहाँले यो फिल्ममा राम्रो भूमिका दिएकोमा निर्माण टिमलाई समेत धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो, “ट्रेलरबाट म अहिले पनि बाहिर निस्कन सकेको छैन । एकदमै भावुक भइरहेको छु । दर्शकहरुलाई पनि मन पर्छ भन्ने विश्वास छ त्यहीँ भन्न चाहान्छु । कस्तो लाग्छ । प्रतिक्रिया दिनुहोला । यति राम्रो भूमिकाका लागि मलाई विश्वास गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु ।”

यसैगरी साइग्रेस पोखरेलले पहिलोपटक यस चलचित्रमा अभिनयमा उत्रिन पाउनु नै भाग्यको कुरा भएको बताउनुभयो । उहाँले घर नभएको आमा होस् तर आमा नभएको घर नहोस् भन्ने भनाइ नै यस चलचित्रमा देखाउन खोजेको भन्दै आमा शब्द धेरै नै भारी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एउटा भनाइ छ । बरु घर नभएको आमा होस् तर आमा नभएको घर नहोस् भन्ने । त्यसैले आमा शब्द कति भारी छ । म पहिलोपटक यस चलचित्रमा अभिनयमा उत्रिन पाउनु भाग्यको कुरा हो । आमा, भगवान् श्रिकृष्ण र भगवान् श्रीराम यो तीनवटा कुराले यो अभिनयमा मैले आफूलाई स्वीकार गरे ।”

चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ मा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायतको मुख्य भूमिका रहेको छ ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन् । फिल्मको संगीतकारमा कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम रहनुभएको छ । फिल्मको प्रदर्शन अधिकार भने आरआर फिल्म्सले लिएको छ भने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...