विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

18

काठमाडौँ, ४ माघ । काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई सचेत गराउने उद्देश्यका साथ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजना गरिएको ‘ट्राफिक सप्ताह’ विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।

‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित सात दिनसम्म सञ्चालन गरिएको उक्त विशेष अभियानको काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलमा विविध सांस्कृतिक कार्यक्रम गरी आज समापन गरिएको हो ।

ट्राफिक सप्ताहका अवसरमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार, सडक नाटक, सांस्कृतिक प्रस्तुति, दुर्घटनाका घाइतेका लागि रक्तदान कार्यक्रम, सवारी चालक तथा सहचालकलाई प्रशिक्षण, आँखा शिविरलगायत विविध कार्यक्रम सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

समापन कार्यक्रममा प्रमुख अतिथि एवम् प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चालक, यात्रु तथा पैदलयात्री सबै जिम्मेवार बनेमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै सभ्य बनेको खण्डमा समाज पनि सभ्य बन्छ । हाम्रा परिवार हामी सुरक्षित रूपमा फर्कने प्रतीक्षामा हुन्छन् भन्ने कुरा सम्झेर सवारी चलाउँदा विशेष ध्यान दिन आवश्यक छ ।”

उहाँले पैदलयात्रीहरूले पनि जथाभावी सडक पार नगरी सुरक्षित स्थान प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । ट्राफिक नियमको पालना सबैले गरेमा सवारी दुर्घटनाको अन्त्य सम्भव रहेको उहाँको धारणा थियो । “ट्राफिक प्रहरी चोकचोकमा बसेर मात्रै दुर्घटना कम हुँदैन,” उहाँले भन्नुभयो, “नागरिक आफैँ सचेत भई नियम पालना गरेको खण्डमा सवारी दुर्घटना रोक्न सकिन्छ ।”

महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी भवनको पुनर्निर्माण तथा प्रहरीका लागि सवारीसाधन खरिदमा सहयोग गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो । कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक सप्ताह सडक दुर्घटना न्यूनीकरण र सभ्य नागरिकको पहिचान गराउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबैले ट्राफिक नियमको पालना गरे सवारी दुर्घटना अवश्य न्यूनीकरण हुन्छ ।”

सात दिनसम्म सञ्चालन गरिएको उक्त अभियानमार्फत हजारौँ नागरिकलाई ट्राफिक नियमसम्बन्धी सचेतना प्रदान गरिएको उल्लेख गर्दै उहाँले अब नागरिकले ट्राफिक नियम पालना गर्ने विश्वास व्यक्त गर्नुभयो । समापन कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरूले ट्राफिक सचेतनासम्बन्धी सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...