स्वास्थ्यका लागि चमत्कारी अन्जिर, भिजाएर खाँदा के–के हुन्छ फाइदा ?

13

काठमाडौँ, ४ माघ । अन्जिर पोषक तत्वले भरिपूर्ण सुपरफुडका रूपमा चिनिन्छ । विशेषगरी अन्जिरलाई रातभर पानीमा भिजाएर सेवन गर्दा यसको पाचन क्षमता बढ्नुका साथै शरीरले पोषक तत्व राम्रोसँग अवशोषण गर्न सक्ने विज्ञहरू बताउँछन् ।

भिजाएको अन्जिरमा प्रशस्त मात्रामा आहारीय फाइबर पाइने भएकाले यसले पाचन प्रणालीलाई सक्रिय बनाउँदै कब्जियतको समस्या कम गर्न मदत गर्छ । पानीमा भिजाउँदा अन्जिर नरम हुने भएकाले पचाउन सजिलो हुने र आन्द्राको स्वास्थ्य सुधार हुने बताइएको छ ।

अन्जिरमा पाइने पोटासियम, म्याग्नेसियम तथा एन्टिअक्सिडेन्ट तत्वले रक्तचाप नियन्त्रणमा राख्न र खराब कोलेस्ट्रोल घटाउन सहयोग गर्ने भएकाले मुटुको स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।

यसका साथै, क्याल्सियम र फस्फोरसजस्ता खनिज तत्वले हड्डीको मजबुती कायम राख्न मदत गर्ने भएकाले नियमित रूपमा भिजाएको अन्जिर सेवन गर्दा हड्डी कमजोर हुने समस्या तथा अस्टियोपोरोसिसको जोखिम कम हुन सक्छ । यो विशेषगरी महिलाहरू र ज्येष्ठ नागरिकका लागि उपयोगी हुने विज्ञहरूको भनाइ छ ।

भिजाएको अन्जिरमा भिटामिन ‘ए’, ‘सी’ र ‘के’ का साथै आइरन र कपरजस्ता खनिज तत्व पनि पाइन्छन् । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाइ संक्रमणसँग लड्न सहयोग गर्छ । फाइबरयुक्त र प्राकृतिक रूपमा गुलियो हुने भएकाले भिजाएको अन्जिरले भोक नियन्त्रण गर्न मदत गर्ने र अस्वस्थकर स्न्याक्सको सेवन कम गराउने भएकाले तौल व्यवस्थापनमा पनि सहयोग पुग्ने बताइन्छ ।

यद्यपि, यो जानकारी सामान्य सूचनाका लागि मात्र भएकाले आहारमा कुनै पनि परिवर्तन गर्नुअघि सम्बन्धित स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श लिन सुझाव दिइन्छ । –एएनआई

Share This:
सम्बन्धित खबर
Loading...