- मनिषा बस्नेत
काठमाडौँ, १ माघ । माघको चिसो बिहान सहर र बस्ती निदाइरहेकै बेला थारु बस्तीहरूमा भने नयाँ उमंगको सुरु हुन्छ । बिहान ४ बज्न नपाउँदै नदी, खोल्सा, पोखरीतिर स्नानका लागि लाग्ने भीड देखिन्छ । अनि अनुहारमा नयाँ वर्षको आशा भरिन्छ र माघी अर्थात थारु समुदायको नयाँ वर्ष प्रारम्भ हुन्छ ।
थारु समुदायका लागि माघी केवल एक पर्व होइन, यो सामूहिक स्मृति, सामाजिक पुनःसंयोजन र आत्मपहिचानको दिन हो । पश्चिम दाङदेखि कञ्चनपुरसम्म र पूर्वी तराईसम्म फरक–फरक नाम र परम्परामा मनाइए पनि माघीको आत्मा एउटै छ– ‘दुःख बिर्सेर नयाँ सुरुवात गर्ने ।’
थारु माघी महोत्सव २०८२ का आयोजक नन्दुराज चौधरीका अनुसार माघ १ गते बिहानै माघी स्नान अर्थात् ‘माघ लहान’ गर्ने परम्पराले शारीरिक मात्र होइन, आत्मिक शुद्धताको अर्थ पनि बोकेको हुन्छ ।
माघीको दिन स्नानपछि घर फर्केर ‘निस्राउ’ छुट्याइन्छ । निस्राउमा चामल, दाल, नुन, बेसार, तरकारी र गक्षअनुसार दानदक्षिणा हुन्छन् । चौधरीका अनुसार निस्राउ छोएपछि ठुलाबडासँग ढोग–सलाम गरी आशीर्वाद लिने चलन छ, जसले पुस्ताबीचको सम्बन्धलाई बलियो बनाउँछ । छोरीबेटीका लागि कपडा छुट्याउने परम्परा रहेको र त्यसले माइती र चेलीको नाता अझै जीवित राख्छे उहाँले बताउनुभयो ।
माघीमा हरेक घरमा घिक्री, घोंगी, सोरिकशिखर, खिचरीजस्ता परिकार पाक्छन् । पश्चिम तराईमा करिब १५ दिनसम्म मघौटा, धमाहा, झुम्रा जस्ता नाचगानले गाउँ भरिने उहाँले बताउनुभयो ।
“हरेक घरमा पकवान घिक्री, घोंगी, सोरिकशिखरलगायत विभिन्न पकवानहरु हुन्छन् । त्यो सेवन गर्ने गराउने गर्छौँ । हाम्रो पश्चिमतिर १५ दिनसम्म मनाइन्छ । नाचगान गरेर मघौटा, धमाहा लगायत गीतहरु गाएर घरघरमा जसरी देउसीभैलो खोलिन्छ त्यसैगरी घरघरमा गएर खेल्ने चलन पनि छ,” उहाँले भन्नुभयो ।
पूर्वी तराईमा तिल र मुरीको प्रयोग, परिधान र संस्कारमा केही फरक भए पनि पर्वको मर्म उही मेलमिलाप र नयाँ आशा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “पूर्वतिर तिल, अलिकति मुरैहरु खानुहुन्छ । परिकार वा संस्कारमा पनि सबैतिर लगभग उही प्रक्रिया हो, तर मनाउने चलन फरक छ ।”
माघी थारु समुदायका लागि नयाँ वर्ष मात्र होइन, नयाँ नेतृत्व चयनको समय पनि भएको उहाँले बताउनुभयो । थारु समुदायमा परम्परागत ‘बरघर प्रणाली’मार्फत गाउँको नेतृत्व छनोट गरिन्छ । पश्चिम नेपालका दाङ्ग, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका थारू समुदायमा बरघर प्रणाली प्रचलित छ ।
बरघर प्रणालीका कारण यी जिल्लाका थारू समुदायमा बाटो, कुलो, बाँध निर्माण र मर्मत सम्भार गर्न सरकारी बजेटको मुख नताकेर जनश्रमदानबाट काम सम्पन्न गर्ने चलन बसेको छ । जसले निस्वार्थ सेवा भावले काम गरिन्छ, पारिश्रमिक लिइदैन । उहाँले भन्नुभयो, “जो अगुवा हुनुहुन्छ, उहाँले समाजप्रति सेवा गर्नुहुन्छ । उहाँहरूले समाजप्रति गर्ने काम निष्पक्ष रूपले गर्नुहुन्छ । सामुदायिक हिसाबले चुन्छौँ ।”
तर, पछिल्लो समय पहाडबाट बसाइसरी आउने प्रचलन बढेसँगै ‘बरघर’ प्रणालीमा परिवर्तन आएको चौधरी बताउनुहुन्छ ।
उहाँका अनुसार थारु बस्तीहरूमा पहाडीयाहरुको बाहुल्यता बढ्दो छ, जसले थारु समुदाय सीमित भइरहेको छ । बरघर प्रणालीमा समेत राजनीति छिराउन खोजिएको र पारिश्रमिक पनि माग गर्ने कुरा अमान्य हुने उहाँले बताउनुभयो ।
“पहाडबाट आएकाहरुले गर्दा नयाँ बस्तीहरू बढ्दैछन्, थारू समुदाय भन्दा अन्यको बाहुल्यता बढ्दै छ । हामी सीमित भइरहेको अवस्थामा बरघर सिस्टम राजनीति छिर्न खोज्दैछ,” उहाँले थप भन्नुभयो, “त्यसमा हाम्रो आपत्ति छ, उहाँहरूले पनि अगुवाइ गर्न खोजिराख्नुभएको छ समाजमा । राजनीतिक तरिकाले चलाउन खोज्नुहुन्छ ।” उहाँले आफ्नो समुदाय सरकारी प्रणालीभन्दा भिन्न तरिकाले चलाउँने पनि बताउनुभयो ।
आधुनिकता, बसाइँसराइ र नयाँ पुस्ताको जीवनशैलीसँगै थारु समुदायको सांस्कृतिक निरन्तरता चुनौतीमा परेको छ । यही सन्दर्भमा थारु माघी महोत्सव जस्ता पर्वहरू पुस्तान्तरणका सेतु बनेको चौधरीले बताउनुभयो ।
संस्कृतिलाई व्यावसायिक र पर्यटनसँग जोड्न सके पहिचान जोगिनुका साथै विकास पनि हुने उहाँको भनाइ छ ।
टुँडिखेलमा थारु पहिचानको उत्सव
पुस ३० र माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजना हुने थारु माघी महोत्सव २०८२ ले देशभरका थारु समुदायलाई एउटै मञ्चमा जोड्नेछ । झाँकी र्याली, सांस्कृतिक प्रस्तुति, परम्परागत खानपान र हस्तकलाले थारु पहिचानलाई राजधानीमै उजागर गर्ने छ ।
थारु माघी महोत्सव २०८२ को झाँकी र्यालीको संयोजक रहेका चौधरीका अनुसार थारु संस्कृति केवल समुदायको मात्र होइन, नेपालकै सांस्कृतिक धरोहर हो । अन्तर्राष्ट्रिय स्तरमा यसको प्रवर्द्धनका लागि सरकारको नीतिगत र आर्थिक सहयोग अपरिहार्य छ । यसले पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्र र राष्ट्रिय समृद्धिमा योगदान पुर्याउन सक्ने उनको अपेक्षा छ । –नेपाल न्यूज बैङ्क