नाटाले स्थापना कालदेखि पर्यटन प्रवर्द्धनमा नेतृत्वदायी भूमिका खेलेको छ : अध्यक्ष थपलिया

9

काठमाडौँ, २० पुस । नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष कुमारमणि थपलियाले नाटाले स्थापना कालदेखि नै नेपालको पर्यटन प्रवर्द्धन, हवाई सञ्जाल विस्तार तथा व्यवसायिक हित संरक्षणमा निरन्तर भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।

नाटाको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष थपलियाले नाटा नेपालको पर्यटन क्षेत्रको पहिलो तथा प्रमुख सरोकारवाला संस्था भएको उल्लेख गर्नुभएको हो । उहाँले पर्यटन क्षेत्र अप्ठ्यारो अवस्थामा परेका बेला सधैँ नाटा अग्रस्थानमा रहेर काम गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थापना कालदेखि नै नाटाले नेपालको पर्यटन प्रवर्द्धन, हवाई सञ्जाल विस्तार तथा व्यवसायिक हित संरक्षणमा निरन्तर भूमिका निर्वाह गर्दै आइरहेको छ । नाटा नेपालको पहिलो पर्यटन क्षेत्रको प्रमुख सरोकारवाला संस्था हो । पर्यटन क्षेत्रको अप्ठ्यारो अवस्थामा जहिले पनि अग्रस्थानमा नाटाले काम गरिरहेको छ ।”

अध्यक्ष थपलियाका अनुसार हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट)को विषय, विभिन्न विपद् तथा संकटका समयमा साना तथा मझौला व्यवसायको संरक्षण, कोभिड–१९ महामारी र विभिन्न आन्दोलनका दौरान नाटाले अग्रपङ्क्तिमा उभिएर नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।

उहाँले नाटाले पर्यटन क्षेत्रको संरक्षण र सुरक्षित भविष्य सुनिश्चित गर्न निरन्तर प्रयास गर्दै आएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “हवाई टिकटमा मूल्य अभिवृद्धि कर, भ्याटको प्रसंग होस् या विभिन्न विपद् संकटका समयमा साना तथा मझौला व्यवसायहरुलाई जोगाउन गरेको संघर्ष होस् या कोभिड–१९ को अवस्थामा र विभिन्न आन्दोलनका समयमा नाटाले सधैँ अग्रपङ्क्तिमा उभिएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै यस पर्यटन क्षेत्रको संरक्षण र सेफ गार्डेनको काम गर्दै आइरहेको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...