हत्या गरिएका वनपालेको टाउको फेला

9

सर्लाही, २० पुस । सर्लाहीको ईश्वरपुरमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको भेटिएको छ । ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन परियोजनामा वनपालेका रुपमा कार्यरत महतोको शनिबार घाटी काटेर हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शनिबार महतोको टाउको बिनाको शव भेटिएको थियो । आज दिउँसो मात्रै महतोको टाउको घटनास्थलबाट एक सय मिटरको दुरीमा फेला परेको हो । महतोको हत्याको अनुसन्धानमा दुई वटा कुकुरसहित धनुषाको लालगढबाट प्रहरीको विषेश अनुसन्धान टोलीले पुगेको थियो ।

प्रहरीले हत्याको आशङ्कामा एक जनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि, पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन ।

शनिबार बिहानै वनमा रूख काटेको आवाज सुनेपछि महतो साइकलमा त्यसतर्फ लाग्नुभएको थियो । उहाँ अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए ।

महतोको हत्यापछि स्थानीय त्रसित बनेको ईश्वरपुर नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...