सर्वसाधारणको नाममा वालेट आइडी बनाइ ठगी गर्ने ६ जना पक्राउ

12

जनकपुर, १६ पुस । धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आइडी बनाएर ठगी गर्ने समूहलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनमार्फत ठगी गर्ने समूहका ६ जना पक्राउ गरेको बारे जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानी चोकमा मामा भान्जा ट्रेडर्स (आइएमई) सञ्चालन गरेर बसेका विशाल भुजेल, धनुषाधाम–९ घर भइ हाल धारापानी चोकमा मोबाइल पसल सञ्चालन गरेर बसेका ३७ वर्षीय सन्तोष मण्डल, धनुषाको धनौजी गाउँपालिका–२ का २५ वर्षीय साधु राम, सोही स्थानमा घर भइ हाल जनकपुरधामको शिव चोकमा डेरा गरी बसेका २२ वर्षीय बलराम मण्डल, धनौजी गाउँपालिका–२ का २० वर्षीय रुपेश कुमार साह र सोही स्थानका १९ वर्षीय निक्की कुमार राम रहेका छन् ।

उनीहरुले ठगी गरी विभिन्न व्यक्तिहरुको नाममा खोलिएको वालेट आइडीबाट हालसम्म ३९ लाख २० हजार ६५ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ ।

पक्राउ परेकाहरुमध्ये आइएमई सञ्चालक भुजेलले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेका मानिसहरुले आफन्त तथा घर परिवारका सदस्यहरुको नाममा अन्य मुलुकबाट रेमिट्यान्स पठाएको रकम निकाल्न आउँदा नागरिकता र फोटो आवश्यक पर्ने भन्दै प्रतिलिपि निकाली वालेट आइडी बनाउने गरेको खुलेको छ ।

त्यस्तै, पक्राउ परेका मोबाइल पसल सञ्चालक मण्डलले सिम कार्ड निकाल्न आउने सेवाग्राहीलाई झुक्याएर उनीहरुको नाममा अन्य सिमकार्ड निकाली वालेट आइडी बनाएर आइएमई सञ्चालक भुजेललाई दिने गरेको खुलेको छ ।

त्यस्तै, ठगी गर्ने मुख्य व्यक्तिहरु बलराम मण्डल, रुपेश कुमार साह र निक्की कुमार रामले भने सामाजिक सञ्जालमार्फत नक्कली प्रोफाइल बनाएर लत्ता कपडा, फर्निचर, मोटरसाइकललगायतको विभिन्न किसिमका फोटो र भिडिओ पोष्ट गरी विज्ञापन गर्ने गरेको खुलेको छ ।

सो विज्ञापनको प्रलोभनमा परेर सर्वसाधारणहरुले पठाउने रकम वालेट आइडीमा राखेर उनीहरु सम्पर्कविहीन हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बहादुर बमले जानकारी दिनुभयो । यस ठगीमा पक्राउ परेका साधु रामले भने मोबाइल पसल सञ्चालक मण्डलबाट वालेट आइडी तथा वालेटमा प्रयोग हुने सिम कार्ड खरिद गरी उक्त वालेट आइडी आफ्नो मोबाइलमा लगइन गरी उक्त आइडीको क्युआर कोड सामाजिक सञ्जालमार्फत पोष्ट भएको विज्ञापन देखेर प्रलोभनमा परेका सर्वसाधारणहरुलाई पठाउने र रकम प्राप्त भएपछि सोबाट २५ देखि ३० प्रतिसत कमिसन लिइ बाँकी विज्ञापन पोष्ट गर्ने तीनै जनालाई दिने गरेको खुलेको छ ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीको १९ थान मोबाइल, ४ वटा ल्यापटप, एप्पल कम्पनीको एउटा आइप्याड, ठगी गर्न प्रयोग भएको २० वटा सिमकार्ड, सिमकार्डको सिरियल नम्बर तथा सिम कार्ड नम्बर मात्र खुल्न आएको ५५ वटा कभर र इन्टरनेटका ३ वटा राउटर फेला पारेर नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुविरद्ध ३ जनाले जाहेरी लेखी पेश गरेकाले सोसहित अनलाइन ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...