काठमाडौँ, १५ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले तमु ल्होसारले सबै नेपालीबीच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मदत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, “गुरुङ समुदायको प्राचीन पात्रो प्रणाली र जीवन शैलीसँग सम्बन्धित यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्याउनाका साथै सबै नेपालीबीच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मदत पुग्नेछ भन्ने विश्वास लिएको छु ।”
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरका रूपमा हर्षोल्लासका साथ मनाउने चलन छ ।
शुभकामना सन्देशमा भनिएको छ, “तमुल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भइ प्रगति पथमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”