व्यावसायिक कागती खेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

7

दाङ, २ पुस । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाउनुभएको छ ।

रासायनिक विषादी प्रयोग नगरी खेतीमा लाग्नुभएका सिभिल इन्जिनियर उहाँले यसमा एक करोड रूपैयाँ लगानी गरिसक्नुभएको छ । चार बिघा १० कट्ठाबाट खेती सुरु गर्नुभएका ४१ वर्षीय लोहनीले यसलाई छ बिघा विस्तार गर्नुभएको छ ।

उद्यमी लोहनीले सञ्चालन गरेको बगैँचामा ‘सुन कागती–१’ जातका करिब दुई हजारभन्दा बढी बिरुवा रोपिएका छन् । उहाँ भन्नुहुन्छ, “सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गर्दछ । हाल कागती जिल्लाको घोराही बजारसँगै काठमाडौँ पनि पठाउने गरेको छ ।”

बगैँचामा १० जनाले रोजगारी पाएका छन् । खेती बढाउने सोचमा रहनुभएका उहाँले प्रतिकट्ठा वार्षिक तीन हजार रूपैयाँ तिर्ने गरेको बताउनुभयो । उहाँले थोपा सिँचाइ प्रविधि प्रयोग गर्नुभएको छ । तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्ने उहाँको लक्ष्य छ ।

काठमाडौँमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा सेवा गर्नुभएका उद्यमी लोहनीले भन्नुभयोे, “सागसब्जीका तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कम हुने र उत्पादन पनि अधिक हुने भएकाले कागतीखेतीमा लागेको हुँ ।” गत वर्ष प्रतिकिलो १५० रूपैयाँसम्म मूल्य पाएको कागती यस वर्ष ८० रूपैयाँमा झरे पनि खेतीप्रति निराश हुनुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...