- सुन्दरकुमार थकाली
मुस्ताङ, २८, मङ्सिर । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मालम्वीहरुको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरनजिकै रहेको यहाँको झारकोट गाउँ पर्यटन विकासका हिसाबले ओझेलमा परिरहेको छ । मुक्तिनाथ मन्दिरनजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ पर्यटन प्रवर्द्धन र विकासमा भने पछि परेको हो ।
वारागुङ मुक्तिक्षेत्रस्थित मुक्तिनाथ मन्दिरको काखैमा चार वटा गाउँ छन् ,जसमध्ये सबैभन्दा धेरै बाक्लो बस्ती र पुरानो गाउँ हो झारकोट गाउँ । यहाँस्थित मुक्तिनाथको काखमा झारकोट गाउँसहित पुराङ रानीपौवा, खिङ्गा र छेङ्गुर गाउँ पर्दछन् । यी गाउँमध्ये सबैभन्दा धार्मिक तिर्थालुको आगमनका कारण पुराङ रानीपौवा बजारमा पर्यटकको चहलपहल निकै हुने गर्छ । झारकोट गाउँसहित अरु गाउँ भने पर्यटन गुमनाम जस्तै हुन्छ । कागबेनी-मुक्तिनाथ सडक खण्डसँगै जोडिएको यहाँको झारकोट सबैभन्दा बढी पर्यटनका हिसाबले पछि परेको छ ।
कुनै बेला यहाँको कागबेनी-मुक्तिनाथ जाने सडकमार्ग नहुँदा यहाँको पुरानो झारकोट गाउँमा पर्यटकको चहल÷पहल हुन्थ्यो । सडक नहुँदा मुक्तिनाथ दर्शन गर्ने धार्मिक तिर्थालुहरु र मनाङ हुँदै थोरङ्लापास गर्ने विदेशी पर्यटकहरु यही ‘झारकोट गाउँ भित्रको गोरेटो बाटो हिँडेर आउजाउ गथ्र्ये । मुक्तिनाथको दर्शन गर्न आएका तिर्थालुहरु र विदेशी पर्यटकहरु यहाँको झारकोट गाउँको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यता नियाल्थे । पैदल हिँडेर आएका तिर्थालुहरु यहाको गाउँमा खाजा खाना र बास बस्थे । त्यतीखेरको अवस्थामा यहाँको झारकोट गाउँमा स्थानीयको व्यापार व्यवसाय पनि राम्रै चलेको थियो । तर, अचेल यहाँको झारकोटा गाउँभित्रको गोरेटो पदमार्ग बिरानो बनेको छ । पछिल्लो एक दशक यता गाउँभित्रको गल्ली गोरेटो बाटो स्थानीयबासीको आउजाउका लागि मात्रै सीमित बनेको छ ।
यहाँको कागबेनी-मुक्तिनाथ सडक र यहाँ गाउँको आवश्यक प्रचार÷प्रसार हुन नसक्दा झारकोट गाउँ ओझेलमा परेको स्थानीय धेचआङ्मो गुरुङले बताउनुभयो । स्थानीय गुरुङका अनुसार गाउँको विकासका लागि युवा जनशक्ति विदेश पलायन हुँदा पर्यटन प्रवर्द्धन हुन नसकेको हो । कागबेनी-मुक्तिनाथ सडकमार्गमै पर्ने यहाँको झारकोट मुक्तिनाथ मन्दिरको काखैमा रहेको भए पनि पर्यटन क्षेत्रबाट कुनै फाइदा लिन नसक्ने अवस्था रहेको स्थानीय गुरुङको भनाइ छ ।
यहाँको झारकोट गाउँ विगत डेढ दशकदेखि पर्यटनका हिसाबले गुमनाम जस्तै छ । बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटकहरु झारकोट गाउँ नजिकैको सडकमार्ग हुँदै मुक्तिनाथ आउजाउ गर्ने भएता पनि झारकोट गाउँमा पर्यटकहरुको उपस्थिति शून्य रहेको स्थानीय गुरुङको दुःखेसो छ । “दिनहुँ सयौँ तिर्थालुहरु हाम्रै गाउँको बाटो ओहोर दोहोर गर्छन्, कति आए कति गए पत्तै हुन्न,” स्थानीय गुरुङले भन्नुभयो, “तिर्थालु र पर्यटकहरु सिधैँ आउँछन्, सिधैँ जान्छन्, हामी त हेरेको हे¥यै मात्रै ।”
यहाँको प्राचिन बस्ती झारकोट गाउँमा साठी घरधुरी छन् । पहिला सडक नहुँदा गाउँका अधिकाँश युवाहरु गाउँ थिए । सडकको विकासले यस गाउँको रोजीरोटीमा नराम्रो धक्का पुग्यो । डेढ दशकअघि निकै चहलपहल हुने झारकोट पछिल्लो समय सुनसान बनेको स्थानीय धेचआङ्मो गुरुङको भनाइ छ । गाउँमा आम्दानी गर्ने माध्यम गुम्न थालेपछि गाउँका युवायुवतीहरु एकपछि अर्को गर्दै गाउँ छोडेर विदेश पलायन हुन थालेको उहाँको भनाइ छ ।
यतिबेला झारकोट गाउँमा युवायुवतीको संख्या एकदमै कम छ । अधिकांश युवायुवतीहरु वैदेशिक रोजागारका लागि युरोप र अमेरिका भाँसिदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिकहरुको संख्या बढिरहेको स्थानीय गुरुङले उल्लेख गर्नुभयो । हाम्रो गाउँतिर सडक विकास भयो, केही गर्न सक्नेलाई अवसरको ढोका पनि खुल्ला छ,’ स्थानीय गुरुङले भन्नुभयो, “तर, विकासलाई समृद्धिमा बदल्ने युवायुवतीनै बाहिर पुगिसके,अब गाउँको आर्थिक विकास कसले गरिदेला र ?” यहाँ गाउँमा युवापङ्क्ति सबै विदेश गइसकेकाले हरेका घरधुरीमा दुईदेखि चार जनाभन्दा बढी मान्छे नरहेको उहाँले उल्लेख गर्नुभयो । गाउँको विकासका लागि युवाहरुको आवश्यकता रहे पनि युवाहरुको विदेशिने क्रमलाई रोक्न नसकिएको गुरुङले सुनाउनुभयो ।
यहाँको ऐतिहासिक झारकोट गाउँका स्थानीय आंशिक खेतीपाती र पशुपालन व्यवसाय गरी जीविकोपार्जन गर्ने गरेको स्थानीय नम्डुल गुरुङले जानकारी दिनुभयो । यहाँ केहीले याक र घोडाको व्यापार व्यवसाय गर्ने गरेको स्थानीय गुरुङको भनाइ छ । पछिल्लो समय यहाँको मुक्तिनाथ मन्दिर नजिकैको चार गाउँका मानिसले घोडाबाट मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरुलाई घोडा चढाएर आयआर्जन गर्ने गरेका छन् । जसमध्ये झारकोटमा पनि केही युवाहरुले मुक्तिनाथमा घोडालाई यात्रु ओसार पोसार गरी सशुल्क सेवा दिइरहेको स्थानीय गुरुङको भनाइ छ । वर्षभरिको खेतीपाती र पशुपालन व्यवसायले वार्षिक गर्जो टार्न मुस्किल भएकाले बैकल्पिक व्यापार व्यवसायको भर पर्नु परेको स्थानीय गुरुङले सुनाउँनुभयो ।
वारागुङ मुक्तिक्षेत्र-१ स्थित यहाँको झारकोट गाउँमा सदियौँ वर्ष पुरानो ऐतिहासिक राजाको दरबार अवस्थित छ । प्राचिन कालमा निर्माण भएको यहाँ अवस्थित साढे ३ तले झारकोटा राजाको दरबार यहाँको पुरातात्विक तथा सांस्कृतिक सम्पदा रहेको यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । यहाँको दरबारमा तत्कालीन झारकोट राजाका पछिल्ला पुस्ताहरुले बस्ने र दरबारको भोगचलन गर्दै आइरहेको उहाँको उल्लेख गर्नुभयो ।
यहाँ सदियौँ वर्ष पुरानो झार छोदे गुम्बा अवस्थित छ । यसैगरी झारकोट गाउँमा गाउँमा कुनै व्यक्ति बितेमा उक्त लाशलाई गाउँभित्र रहेको (केनिल) मुनिबाट लगेर दाहसंस्कार गर्ने प्रचलन रहेको छ । झारकोट गाउँ नजिकै गुरु सेप्ची रहेको छ । जहाँ ढुङ्गामा कुदिएका जस्ता गुरु पद्म सम्भवका पाइलाको डोब देख्न सकिन्छ ।
यहाँ प्राचिन कालमा निर्माण भएका ढुंगा र माटोले निर्मित पुराना घरहरु अझै जिवन्त रहेका छन् । गाउँमाथिको केहीपर तोरा ताल अवस्थित छ । त्यहाँको ताल वरपर प्राक्रितिक वनस्पति सिवकर्थोन अर्थात् स्थानीय भाषामा (तोरा) पाइने भएकाले त्यहाँको ताललाई तोरा ताल भनिएको हो । पछिल्लो समय त्यहाँ स्थानीयले ताल वरपर लुङ्ता झन्डा गाडेर निकै आर्कषक तुल्याएका छन् । मुक्तिनाथ आएका पर्यटकहरु त्यहाँको तोरा ताल अवलोकन गर्न जाने गरेको वडाध्यक्ष गुरुङले बताउँनुभयो । पछिल्लो समय झारकोटस्थित गुम्बा संरक्षणका लागि प्रदेश सरकार र पालिका सरकारले बजेट विनियोजन गरेर संरक्षण तथा सम्वर्द्धन गर्दैआइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ । –रासस