काठमाडौँ, २७ मङ्सिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११औँ महाधिवेशन चुनौतीपूर्ण परिस्थितिमा आयोजना गरिएको बताउनुभएको छ ।
शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले आजभन्दा ठिक तीन महिना अघि देशले कल्पना नै नगरेको विनाशकारी अवस्था भोग्नुपरेको उल्लेख गर्नुभयो ।
सन् १८१६ मा सुगौली सन्धि भएपछि नेपालले कहिल्यै युद्ध लड्न नपरेको स्मरण गराउँदै ज्ञवालीले भदौ २३ र २४ गते काठमाडौँसहितका प्रमुख सहरी केन्द्रहरूको अवस्था युद्धग्रस्त मुलुक जस्तै देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एउटा चुनौतिपूर्ण अवस्थामा यो महाधिवेशनको आयोजना गर्दै छौँ । आजभन्दा ठिक तीन महिना अगाडि यो देशले कहिले कल्पना नगरेको विनाशकारी स्थितिको सामना गर्यो । सन् १८१६ पछि नेपालले कहिले युद्ध लड्न परेन र लड्न परेको छैन । सुगौली सन्धीमा हस्तारण गरेपछि युद्ध लड्नु परेको छैन । तर, भदौ २३ र २४ गते काठमाडौँलगायतका मुख्य सहरी केन्द्रहरुको दृश्य यस्तो थियो मानौँ नेपालमाथि कुनै शक्तिशाली देशले बम, वर्षा गरिरहेको छ । मुलुकमा व्यापक विनाशको स्थिति सिर्जना भयो ।”
नेता ज्ञवालीले जननिर्वाचित सरकार ढल्नु, प्रतिनिधिसभा विघटन हुनु र विधिको शासनको स्थानमा अराजकता हाबी हुनु त्यही समयको गम्भीर यथार्थ भएको बताउनुभयो । “हाम्राविरुद्ध बोल्न नपाइने, आवाज उठाउन नपाइने अवस्था सिर्जना गरियो,” उहाँले भन्नुभयो ।
उहाँले पुराना पार्टी र नेताहरू समाप्त भइसके, नेकपा (एमाले) समेत सकियो भन्ने भाष्य निर्माण गर्ने प्रयास भएको भन्दै त्यसलाई महाधिवेशनको उपस्थितिले खारेज गरेको दाबी गर्नुभयो ।
“मलाई गर्व छ, हामीलाई गर्व छ- आजको यो उपस्थिति प्रमाण हो कि नेकपा (एमाले) जीवित छ, सक्षम छ र निरन्तर अघि बढिरहेको छ,” ज्ञवालीले भन्नुभयो ।