नर्सरी व्यवसायबाट मनग्य आम्दानी गर्दै प्रताप लामा

22
  • पेमा लामा

धुलिखेल, २४ मङ्सिर । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर ८ पकुचा घर भएका प्रताप लामा नर्सरी व्यवसाय सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । धुलिखेलमा १३ वर्ष अगाडि छिम्केश्वरी नर्सरी एण्ड एग्रो फार्म दर्ता गरी फलफूल, फूल र विभिन्न जातका बिरुवा उत्पादन र बिक्री गर्दै आउनुभएका उहाँले अहिले देशैभरि बजारीकरण गर्दै आउनुभएको छ ।

अहिलेको सिजनमा उहाँको नर्सरीमा एभोकाडोको बेर्ना राख्नका लागि धमाधम काम भइरहेको छ । पाँचखाल नगरपालिका–३ समाजकल्याणमा शाखा विस्तार गरी यसअघि १३ रोपनीमा व्यवसाय गर्दै आएकामा थपेर ३५ रोपनी क्षेत्रफलमा पुर्‍याएको छ । अब छिट्टै एक सय रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजनामा रहेको उहाँले पत्झर बिरुवादेखि विभिन्न जातका फलफूल, फूल, जडीबुटी र बुद्धचित्त मालालगायत धेरै जातका बिरुवा उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । हरेक वर्ष तीन चार लाखसम्म हिउँदे तथा बर्खे फलफूलका गुणस्तरीय बोटहरूसमेत उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।

त्यसरी व्यवसाय सञ्चालन गर्ने क्रममा आफ्नै परिवार आत्मनिर्भर हुने मात्रै नभएर ८ जनालाई रोजगारी दिनुभएका उहाँले पछि त्यहीँ व्यवसायमा लाग्न प्रेरित गराउँदै आएको बताउनुभयो । विदेशमा गएर कमाउने पैसा यही काम गरेर पनि कमाउन सकिने आधार बनाउनुभएका उहाँले विदेशमा जान तयार भएका युवाहरुलाई आफ्नो फार्ममा रोजगार दिएर आफ्नै ठाउँमा केही गर्न अवसर समेत प्रदान गरेको छ । लाखौँ विरुवा उत्पादन गर्दै आउनुभएका उहाँले आम्दानीसँगै व्यवसायमा पनि उत्तिकै लगानी गरिरहेको बताउनुभयो ।

थोरै लगानीबाट पनि सुरू गर्न सकिने नर्सरी व्यवसायलाई विस्तारै बढाउन सकिने भएकाले त्यसमा लाग्न युवाहरुलाई प्रेरित समेत गर्दै आउनुभएको छ । हरेक संघ/संस्था, नर्सरीहरु, किसान र साथीहरुसँग समन्वय र सम्पर्कमा रहेको कारण व्यवसायबाट मासिक चार लाखसम्म आम्दानी भइरहेको उहाँले बताउनुभयो ।

कमाइ राम्रो देखिए पनि उतिकै सम्वेदनशील हुने गरेको नर्सरीलाई त्यही ढंगले व्यवस्थापन गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...